‘कुमारी’ बन्यो पब्लिसिटीमा अहिलेसम्मकै सर्वाधिक धेरै बजेट खर्च गर्ने चलचित्र !

काठमाडौं । एक वर्ष अगाडि चलचित्र निर्माता रोहित अधिकारले चलचित्र ‘माइतीघर’ निर्माण गर्दा उनले भनेका थिए, करिब ‘एक करोड रुपैयाँ पब्लिसिटीमा खर्च गर्छु ।’

उनले यसो भनेपछि यो समाचारको हेडलाइन बनेको थियो । किनकी यति धेरै रकम एउटै चलचित्रको पब्लिसिटीमा खर्च गरेको कुनै पनि निर्माताले दाबी गरेका थिएनन् । ‘माइतीघर’को प्रदर्शनमा रोहितले त्यसको प्रचारप्रसारमा एक करोड खर्च गरे कि गरेनन्, यसको सत्यता उनैलाई थाहा होला ।

तर, अहिले हलमा रहेको चलचित्र ‘कुमारी’ले यो भन्दा धेरै बजेट पब्लिसिटीमा खर्च गरेको तथ्य बाहिर आएको छ । ‘कुमारी’ले एक करोड रुपैयाँ यसको प्रचारमा मात्रै खर्च भएको यसका निर्माताले बताएका छन् ।

‘कुमारी’का निर्माता महेन्द्र अधिकारीले प्रचारप्रसारमा एक करोड रुपैयाँ खर्च भएको बताएका छन् । मिडियामा विज्ञापन, फेसबुक पेजमा कन्टेन्ट पोस्ट, होर्डिङ बोर्ड, ठूला सहरमा गरिएका कन्सर्टलगायतका प्रचारमा एक करोडभन्दा माथि बजेट खर्च भएको उनले बताएका छन् ।

यो चलचित्र चार करोड रुपैयाँ बजेटमा हलसम्म आएको निर्माता अधिकारीको भनाइ छ ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘कुमारी’मा अविषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल छन् । विकास सुवेदीको लेखन रहेको ‘कुमारी’मा सुशन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।