‘मितज्यू’को छायांकन एक महिनामै सम्पन्न

काठमाडौं । व्यावसायिक रूपमा सफल चलचित्र ‘घरज्वाइँ’ निर्देशन गरेर चर्चामा आएका निर्देशक अनिल बुढा मगरको दोस्रो सिनेमा ‘मितज्यू’को छायांकन सम्पन्न भएको छ ।

दाङको अम्बिकेश्वरी मन्दिरबाट वसन्त पञ्चमीको शुभ साइतमा सुरु गरिएको चलचित्रको सुटिङ मात्र एक महिनाको अवधिमा पुरा भएको हो ।

चलचित्रको छायांकन दाङ र रोल्पाका विभिन्न मनमोहक एवं ग्रामीण भेगमा गरिएको छ ।

निर्माता जनक घर्ती मगरका अनुसार कलाकार र प्राविधिक टोलीको उत्कृष्ट कार्यसम्पादन र आपसी समन्वयका कारण तोकिएकै समयमा काम सकिएको हो । निर्माता मगर भन्छन्, “हामीले सोचेभन्दा सहज तरिकाले काम भयो, सबैले निकै मेहनत गर्नुभएको छ ।”

छायांकन सकिएसँगै चलचित्र अब पोस्ट-प्रोडक्सनको काममा प्रवेश गर्ने निर्माता मगरले बताए ।

चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र चर्चित डान्सर तेरिया फौजा मगरको मुख्य भूमिका छ । तेरियाले यही सिनेमामार्फत नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् ।

यस्तै चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक मगरले चलचित्र ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित रहेको जानकारी दिए । आफ्नो अघिल्लो सिनेमा जस्तै यसले पनि दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् ।

आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्र आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ ।