गायक कमल विके निर्मोहीको निधन
काठमाडौं । गायक एवं कलाकार कमल विके ‘निर्मोही’को निधन भएको छ ।
नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि समर्पित व्यक्तित्व निर्मोहीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
केही समयदेखि मिर्गौलाको समस्या झेल्दै आएका निर्मोहीलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखेका थिए । तर, उपचारकै क्रममा उनले मंगलबार अन्तिम सास फेरेका हुन् ।
निर्मोहीको परिवारमा हालै मात्र अर्को ठुलो शोक परेको थियो । उनकी पत्नी हेरमदेवी विकको पनि मिर्गौलाकै रोगका कारण गत माघ २३ गते निधन भएको थियो । पत्नीको निधन भएको महिना दिन पनि नपुग्दै निर्मोहीको पनि सोही रोगका कारण निधन भयो ।
दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही लामो समयदेखि नेपालगन्जलाई कर्मथलो बनाएर कला र सञ्चार क्षेत्रमा क्रियाशील थिए । उनी पश्चिम नेपालको रेडियो क्षेत्रमा एक स्थापित नाम हुन् । झन्डै ३० वर्षभन्दा बढी समय रेडियोमा बिताएका उनले आफ्नो आवाज र शैलीका कारण श्रोताको मन जितेका थिए ।
रेडियोकर्मीका अतिरिक्त उनी एक कुशल लोकगायक र स्टेज उद्घोषक पनि थिए । उनले नेपाली लोक सङ्गीतको भण्डार भर्न थुप्रै मौलिक गीतहरू उपहार दिएका छन् ।
निर्मोहीका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’ लगायतका गीत चर्चित छन् ।
सामाजिक सञ्जालमा विभिन्न कलाकार, पत्रकार र शुभचिन्तकहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली लोक संस्कृति जगेर्नामा उनले पुर्याएको योगदानको स्मरण गरिरहेका छन् ।



