चलचित्र ‘रमिताको पिरती’विरुद्ध परेको रिटमा भयो सुनुवाइ, के आयो आदेश ?
काठमाडौं । चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गरिएको निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गत शुक्रबार उच्च अदालत पाटनमा यो चलचित्रले पुरुष समुदायप्रति घृणा फैलाएको दाबी गर्दै अधिवक्ताद्वय सृष्टि भट्ट र लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै मुद्दा दायर गरेका थिए ।
उच्च अदालतले सोमबार यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।
निवेदनकर्ताका तर्फबाट अधिवक्ताद्वय सृष्टि भट्ट र लक्ष्मी तामाङले बहस गरेका थिए । उक्त बहसपछि न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले उक्त ठहर गरेको हो ।
अदालतले चलचित्र पहिले नै केन्द्रीय चलचित्र जाँच समितिबाट स्वीकृत भई प्रदर्शनमा आइसकेकाले तत्काल रोक लगाउनु नपर्ने जनाएको छ । यद्यपि, अदालतले विपक्षीहरू चलचित्र विकास बोर्ड र शिरो फिल्म्स प्रालिलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
अधिवक्ताद्वय भट्ट र तामाङले दायर गरेको सो रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, निर्माता सागर लम्साल र कार्यकारी निर्मात्री एवं अभिनेत्री आना शर्मालगायतलाई विपक्षी बनाइएको छ । अदालतको अन्तिम फैसला भने आउन बाँकी छ ।
सुदीप्ताको निर्देशन रहेको ‘रमिताको पिरती’ हाल देशभरका हलहरूमा नियमित प्रदर्शन भइरहेको छ । यो चलचित्रमा धिरज मगर, आना शर्मा, समीर श्रेष्ठ, विनय श्रेष्ट लगायतको अभिनय छ ।



