हलबाट नउत्रिँदै सिक्वेल घोषणाको लहर : ‘सिक्वेल मोह’ कि व्यापारिक रणनीति ?
काठमाडौं । कुनै समय थियो, फिल्म हिट भएको वर्षौंपछि मात्र त्यसको अर्को भाग (सिक्वेल)को घोषणा हुन्थ्यो । तर, अहिले नेपाली फिल्म उद्योगमा ट्रेन्ड फेरिएको छ । फिल्म हलमा चल्दै गर्दा वा रिलिज भएको केही हप्तामै ‘सिक्वेल’ घोषणा गर्ने लहर चलेको छ ।
नेपालमा सिक्वेल बनेका त्यस्ता फिल्मको सूची निकै लामो छ । यसअघि ‘नाइँ नभन्नू ल’, ‘कबड्डी’, ‘प्रेम गीत’, ‘ए मेरो हजुर’, ‘पशुपति प्रसाद’, ‘लुट’, ‘सायद’, ‘दर्पण छायाँ’, ‘जात्रा’, ‘लप्पन छप्पन’, ‘छड्के’, ‘म यस्तो गीत गाउँछु’, ‘परदेशी’, ‘जारी’ लगायत थुप्रै फिल्मको सिक्वेल बनिसकेका छन् । यीमध्ये धेरैको सिक्वेलमा स्तर खस्किएको गुनासो आए पनि ति फिल्मले व्यवसायिक सफलता पाएका छन् । कतिपय शृंखला व्यवसायिक रूपमा नराम्ररी असफल समेत छन् । ‘दर्पण छायाँ’, ‘छड्के’, ‘प्रसाद’ लगायतको सिक्वेल बक्स अफिसमा सफल हुन सकेका थिएनन् ।
नेपाली फिल्म उद्योगमा निर्माताहरूले फिल्म हलबाट नउत्रिँदै अर्को भागको घोषणा गर्नेको ‘होडबाजी’ पनि छ । यसको पछिल्लो उदाहरणको रुपमा ‘राम नाम सत्य’लाई लिन सकिन्छ । यो सिनेमा दर्शकले पोस्ट क्रेडिटलाइनमा सरप्राइज पाए । त्यो, हो ‘राम नाम सत्य २’ निर्माणको घोषणा ।
यस वर्ष अभिनेता पल शाहका फिल्महरूको हकमा पनि यस्तै भयो । उनले अभिनय गरेका दुई फिल्म रिलिज भए र दुवैको सिक्वेल सुनिश्चित पनि भइसके ।
गत साउनमा रिलिज भएको ‘मोहर’ले बक्स अफिसमा ५ करोडभन्दा माथिको व्यापार गरेपछि यसको सिक्वेलको घोषणा भयो । अहिले हलमा प्रदर्शन भइरहेको फिल्म ‘आ बाट आमा’ले पनि सोचेभन्दा राम्रो कमाइ गरिरहेको छ । यो फिल्म हलमा चल्दाचल्दै निर्माण टिमले ‘आ बाट आमा २’ को औपचारिक घोषणा गरे ।
योसँगै पल शाहका दुईवटै रिलिज फिल्मको सिक्वेल सुनिश्चित भएको छ । एउटै वर्षमा, एउटै अभिनेताका दुईवटा फिल्मको सिक्वेल घोषणा हुनुलाई कतिपयले पलको ‘स्टार पावर’को रूपमा हेरेका छन् भने कतिपयले यसलाई बजारको दबाब ठानेका छन् ।
पलका फिल्महरू मात्र होइन, पछिल्लो समय अन्य धेरै निर्माताहरूले पनि सिक्वेलको घोषणा गरिसकेका छन् । जसमा आधा दर्जनभन्दा बढी हिट फिल्मका सिक्वेल घोषणा भएका छन् ।
अहिले बजारमा चर्चा छ, के नेपाली फिल्ममा मौलिक कथाको खडेरी लागेको हो ? या निर्माताहरू ‘ब्रान्ड’को नाममा सुरक्षित लगानी मात्र खोजिरहेका छन् ?
अभिनेता विराज भट्टले आफ्नो फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेपछि तुरुन्तै यसको दोस्रो भाग निर्माण गर्ने घोषणा गरे ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको राजनीतिक-सामाजिक ड्रामा ‘नाङ्गो गाउँ’को सफलतापछि यसको पनि दोस्रो भाग घोषणा भयो ।
यस्तै, दुई वर्षअघि प्रदर्शनमा आएको ‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘हात्तीछाप २ : बोतल राजा’ बन्ने घोषणा भयो । निर्माताले पोस्ट-क्रेडिटमार्फत छक्कापञ्जा’मा राजाको भूमिकामा देखिँदै आएका दीपकराज गिरी ‘राजा’ वाक्यसहित ‘हात्तीछाप’मा देखा परेका थिए ।
सिमोस सुनुवारको निर्देशन रहेको उक्त चलचित्रमा सबै देशमा एउटै राजा हुने भन्दै दीपकराज गिरीले ३० सेकेण्ड केमियो भूमिका गरेका थिए ।
सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ८८ औं दिनको सेलेब्रेसन कार्यक्रममा निर्माण टिमले ‘पूर्णबहादुरको सारङ्गी २’ निर्माण गर्ने घोषणा गरे ।
‘अगस्त्यः च्याप्टर १’ रिलिज भएको दुई वर्ष भइसकेको छ । तर, अहिलेसम्म ‘च्याप्टर २’ को तयारी देखिँदैन । यस्तै अर्को चलचित्र ‘चित्रा’ ले पनि पोस्ट क्रेडिटमा सिक्वेल घोषणा गरे । यसको पनि दोस्रो श्रृंखलाको अहिलेसम्म तयारी देखिँदैन ।
नेपालमा कतिपय फिल्मले पहिलो भाग रिलिज हुनु अघि वा पोस्ट क्रेडिटमार्फत सिक्वेलको घोषणा गर्छन् । तर, पहिलो भागले बक्स अफिसमा सफलता नपाउँदा दोस्रो भाग प्रायः बन्दैन ।
के फिल्मको सिक्वेल साँच्चै कथाको माग हो ?
एकपछि अर्को सिक्वेल घोषणा हुनुका पछाडि सुरक्षित व्यापार र लगानीकर्ताको विश्वास मुख्य दुई कारण देखिन्छन् । नयाँ नाम र नयाँ कथामा दर्शकलाई हलसम्म तान्न गाह्रो हुन्छ । तर, पहिले नै हिट भइसकेको फिल्मको नाम (ब्राण्ड) सुन्नेबित्तिकै दर्शक हलसम्म आउने सम्भावना बढी हुन्छ ।
वितरक र हल सञ्चालकहरू पनि नयाँ फिल्मभन्दा ‘सिक्वेल’ लाई बढी प्राथमिकता दिन्छन्, जसले गर्दा निर्माताको लगानी सुरक्षित हुने देखिन्छ । तर, समीक्षकहरू भने यसलाई जोखिमपूर्ण मान्छन् । यदि पहिलो भागको तुलनामा दोस्रो भागको कथा कमजोर भयो भने त्यसले फिल्मको ब्रान्ड मात्र बिगार्दैन, दर्शकमा नेपाली फिल्मप्रति नै वितृष्णा जगाउन सक्छ ।
ब्रान्डिङ, सुरक्षित लगानी र दर्शकको चाहना यसका तीनवटा पाटा
सफल फिल्मको नाममा दर्शकलाई हलसम्म तान्न सजिलो हुने भएकाले निर्माताहरू सिक्वेलमा आकर्षित हुन्छन् । नयाँ कथामा जोखिम मोल्नुभन्दा चलेकै फिल्मको नाम (ब्राण्ड) बेच्दा लगानी सुरक्षित हुने सम्भावना बढी रहन्छ । यदि, कथा अपुरो छ र पात्रहरूलाई दर्शकले माया दिएका छन् भने सिक्वेल स्वाभाविक प्रक्रिया पनि हो ।
तर, कथा नै नभई केवल पैसा कमाउने दाउमा सिक्वेल बनाइयो भने त्यसले दर्शकलाई निराश बनाउने जोखिम उत्तिकै रहन्छ ।
दर्शकको नजरमा ‘परान’, ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’
यस वर्ष सिक्वेलको चर्चा पल शाहका फिल्ममा मात्र सीमित छैन । दर्शकहरूले यसै वर्ष हलमा आएर युट्युबमा समेत आइसकेको फिल्म ‘ऊनको स्वीटर’ को पनि दोस्रो भाग आउनुपर्ने माग सामाजिक सञ्जालमा गरिरहेका छन् ।
त्यस्तै, व्यापारिक हिसाबले यस वर्षको सबैभन्दा सफल मानिएको फिल्म ‘परान’ र युवापुस्तामाझ लोकप्रिय ‘जेरी अन टप’ को पनि सिक्वेल आउने हो कि भन्ने कौतुहलता दर्शकमा देखिन्छ ।
यस वर्षकै सर्वाधिक कमाउने फिल्म ‘परान’को दोस्रो भाग आउला कि नआउला भन्नेमा दर्शकको चासो छ । यद्यपि, निर्माण पक्षले यसबारे आधिकारिक बोलेको छैन । यसका निर्देशक दीपक आचार्यले आर्टखबरसँगको कुराकानीमा सिक्वेल आउने बताए ।
निर्देशक आचार्य भन्छन्, ‘सिक्वेल आउँछ, कथा पनि छ । तर, अहिले अर्को सिनेमाको तयारीमा हो । यसपछि ‘परान २’ आँउछ ।’
यसैगरि, अनमोल केसी स्टारर ‘जेरी अन टप’ को हकमा पनि यस्तै अपेक्षा गरिएको छ ।
निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अनटप’ को सिक्वेलको तयारी सुरु भइसकेको छ । ‘अहिले स्क्रिप्टमा काम भइरहेको छ। घोषणा भने अलि पछि गर्छौ, ’ उनले भने ।
यस वर्षको चौथो धेरै कमाउने फिल्म ‘ऊनको स्वीटर’को पनि निर्माण टिमले आधिकारिक रूपमा नभने पनि ‘ऊनको स्वीटर २’ बन्ने टिमका केही सदस्यले तयारी भइसकेको बताउँछन् ।
घोषणा भएका सिक्वेलको यो होडबाजीमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छन् । केही दर्शक भन्छन्, ‘हामीलाई हाम्रा मनपर्ने पात्रहरूको कथा अझै हेर्नु छ ।’ तर, अर्को पक्षको तर्क छ, ‘निर्माताहरू अल्छी भए, नयाँ र मौलिक कथा सोच्नुको साटो पुरानै सफलताको खेती गरिरहेका छन् ।’

