नेपालभाषाको पहिलो ओटीटी ‘नेवा फिल्क्स’ घोषणा

काठमाडौं । नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको पहिलो ओटीटी ‘नेवा फिल्क्स’ सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा घोषणा गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, “कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौँ । त्यो भाषा जोगाउने संघर्षको समय थियो । अहिले संघर्षको रूप फेरिएको छ—अब डिजिटलमै भाषा जोगाउनुपर्छ ।”

उनले प्रविधिसँग नजोडिएको भाषा र सिनेमा टिक्न नसक्ने उल्लेख गर्दै ‘नेवा फिल्क्स’ जस्ता प्लेटफर्म समयको आवश्यकता भएको बताए ।

“आजको पुस्ता मोबाइलमै छ । हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्नुपर्छ। अब नेपालभाषा सिमित घेराभित्र होइन, विश्व बजारमा पुग्नुपर्छ,” उनले भने ।

डीसीले नेपाल चलचित्र विकास बोर्डले पुराना क्लासिक कृतिहरू—‘सिलु’ र ‘राजमती’ लगायत—को डिजिटलाइजेशनमा जोड दिइरहेको जानकारी पनि दिए ।

उनले निजी क्षेत्रको यस्तो पहललाई बोर्डले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आवश्यक सहकार्यका लागि सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । “बाँच्नु मात्र ठूलो कुरा होइन, आफ्नो संस्कृति समयअनुसार रूपान्तरण गर्दै जोगाउनु ठूलो कुरा हो,” उनको भनाइ थियो ।

इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै ‘नेवा फिल्क्स’ सुरु गरेको बताए ।