चलचित्र ‘लालिमा’ अभिनय गरेका दुई नायिकाको यस्तो छ फरक अनुभव

काठमाडौं । फागुन २९ मा प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव गरेको बताएका छन् ।

लालिमा’मा नायिका रोश्नी कार्की ‘ले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै फिल्मको नाम राखिएको छ ।

शीर्ष भूमिकाको प्रस्तवलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेको रोश्नीले बताएकी छन् ।

उनी भन्छिन्, “मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । फिल्म नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।”

यस फिल्मको पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगतरुपमा नौलो अभ्यास गरेको उनले बताइन् ।

उनी भन्छिन्, “यो फिल्ममा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्यो । यो मेरो फरक अनुभव हो ।”

नायिका उषा रजक यो चलचित्रमा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ ।

‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन्, चलचित्र कथामा । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।

प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् ।

यसबारे उषा भन्छिन्, “मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।”

‘लालिमा’मा यी दुई नायिकासँगै नायक जीवन भट्टराई हुन् । उनीहरूसहित चलचित्रमा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

३ हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारित रहेर यो चलचित्र तयार भएको निर्माणपक्षको दाबी छ ।

यो चलचित्र रोशन मिराजको लेखन र निर्देशनमा बनेको हो । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दैछ ।