चलचित्र ‘कार्की साइँला’को छायांकन क्रममा लाइटम्यान भट्टराईको निधन

काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकनमा रहेका प्राविधिक (लाइटम्यान) शम्भु भट्टराईको निधन भएको छ ।

४७ वर्षीय भट्टराईको शुक्रबार धरानमा चलचित्रको छायांकनको तयारीमा रहँदा अचानक निधन भएको हो ।

चलचित्र युनिटका अनुसार काम सुरु गर्नै लाग्दा भट्टराई अचानक अस्वस्थ भएर ढलेका थिए । उनलाई तत्काल उपचारको प्रयास गरिए पनि बचाउन नसकिएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही दिन रोकिएको चलचित्रको छायांकन शुक्रबारबाट काठमाडौंबाट पुगेर धरानको चतरामा पुनः सुरु गर्ने तयारी थियो ।

चलचित्रका मुख्य अभिनेता जीतु नेपालले सामाजिक सञ्जालमार्फत भट्टराईको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हामी सुटिङ सुरु गर्ने तयारीमै थियौं, उहाँ बाटोमै लड्नुभयो भन्ने खबर आयो । साथीहरू दौडेर पुग्दा नपुग्दै उहाँले संसार छाडिसक्नुभएको रहेछ । हामी सबै स्तब्ध छौं ।”

चलचित्र प्राविधिक संघ (नेफ्टा) का अनुसार भट्टराईको शवको शनिबार बिहान धरानमा पोस्टमार्टम गरिनेछ । त्यसपश्चात् शवलाई काठमाडौं ल्याएर शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकका रूपमा कार्यरत भट्टराईका श्रीमती र दुई छोरा छन् । उनको स्थायी ठेगाना काठमाडौंको खरिबोट हो ।