निर्वाचनमा पराजयको अनुभवपछि सुटिङ सेटमा व्यस्त निशा अधिकारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा होमिएकी अभिनेत्री निशा अधिकारी पुनः आफ्नो पुरानै कर्मक्षेत्र अर्थात् चलचित्र सुटिङमा फर्किएकी छन् । चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि हारलाई अनुभवको रूपमा लिँदै निशाले पुनः चलचित्रको छायाकंन आफ्नो सक्रियता बढाएकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवारी दिएकी निशाको राजनीतिक यात्राले चुनावी नतिजामा खासै जादु चलाउन सकेन ।

निशा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल ठूलो मतान्तरले पराजित भइन् । निर्वाचन आयोगको अन्तिम विवरण अनुसार उनले १०० मत पनि कटाउन सकिनन् । उनले ९१ मतमै चित्त बुझाउनु पर्यो ।

सस्मित पोखरेलले ३० हजार ७ सय ३७ मत ल्याएर निर्वाचित भएका थिए । अभिनेत्री निशाले १० प्रतिशत मत समेत ल्याउन सकिनन् ।

यद्यपि, चुनावी मैदानमा उत्रिएर जनताको घरदैलोमा पुग्ने आँट गरेकी उनले हारलाई सहज रूपमा स्वीकार्दै आफ्नो पेशागत धर्मलाई निरन्तरता दिने निर्णय गरेकी छन् । अधिकांश कलाकार जो यो पटक निर्वाचनमा उमेदवार बने, उनीहरु समानुपातिकतर्फ बस्दा निशा भने प्रत्यक्षमै लडेकी थिइन् ।

निशा यतिबेला चलचित्र ‘कस्तुरी’को सुटिङ सेटमा व्यस्त छिन् । आफ्नो चुनावी चटारोका कारण चलचित्रको काम केही समय रोकिएको थियो । निर्वाचन अवधिभर आफूलाई कुर्न तयार निर्माण टोलीप्रति निशा निकै कृतज्ञ देखिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो टिमलाई धन्यवाद दिँदै लेखेकी छन्, “आजदेखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदैछु । चुनाव नसकिएसम्म मलाई पर्खेर बस्नुभएकोमा फिल्म ‘कस्तुरी’को सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

यस चलचित्रमा निशाले अभिनेता निखिल उप्रेतीसँगै अभिनय गर्दैछिन् । उनको लागि निखिलसँगको यो सहकार्य व्यावसायिक मात्र नभई भावनात्मक पनि छ । निशाले आफ्नो फिल्मी करियरको पहिलो चलचित्र ‘मिसन पैसा’बाट निखिलसँगै डेब्यु गरेकी थिइन् ।

आफ्नो पहिलो को–स्टारसँग वर्षौपछि पुनः पर्दामा देखिन पाउनुलाई उनले एक ‘सुखद संयोग’ भनेकी छन् । उनले भनेकी छन्, “निखिल दाइ मेरो पहिलो को–स्टार हुनुहुन्छ, उहाँसँग फेरि काम गर्न पाउनु मेरा लागि निकै खुसीको कुरा हो ।”