दर्शकले ‘धागोले बाटेको’ रुचाएपछि निर्देशक चन्द भन्छन्– ‘हामीलाई गीतमा विश्वास थियो’

काठमाडौं । अहिले देशभर निर्वाचनको माहोल छ । आम सर्वसाधारणदेखि सञ्चारमाध्यमसम्मको ध्यान मतदान र मतपरिणाममा केन्द्रित भइरहँदा आगामी चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको एक गीतले भने युट्युब र सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको दुई साता नबित्दै टिकटक र युट्युबमा भाइरल बनेको हो ।

बाबुल गिरी र चर्चित गायिका रचना रिमालको स्वर रहेको यो रोमान्टिक गीतलाई युट्युबमा सार्वजनिक भएको १३ दिनमै २१ लाख ७३ हजार भन्दा बढी पटक हेरिएको छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी गरेको यस गीतको लोकप्रियता युट्युबमा मात्र सीमित छैन । टिकटकमा यो गीतमा हालसम्म १ लाख भन्दा बढी भिडियोहरू बनिसकेका छन् । सामाजिक सञ्जालमा देखिएको यो उत्साहले निर्माण पक्ष निकै उत्साहित छ ।

यति छोटो समयमा यो गीतले पाएको सफलताले चलचित्रको व्यापारमा ठूलो ऊर्जा थप्ने संकेत देखिएकोमा निर्माण टिम विश्वस्त छ ।

एक्सन स्टारको छवि बनाएका विराज भट्ट यो गीतमा निकै फरक र रोमान्टिक अवतारमा देखिएका छन् । उनलाई नायिका सुपुष्पा भट्टले पर्दामा साथ दिएकी छिन् । भिडियोमा यी दुईको जोडी र केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

निर्वाचनको समयमा गीत सार्वजनिक गर्दा धेरैले जोखिम हुने र दर्शकको ध्यान नजाने आशंका गरेका थिए । तर, निर्देशक चन्द भने आफ्नो काममा ढुक्क थिए । उनी भन्छन्, “धेरैले मलाई यो गलत समय हो भन्नुभएको थियो, तर हामीलाई गीतको गुणस्तर र दर्शकको रोजाइमा विश्वास थियो । आज दर्शकको मुखमा यो गीत झुन्डिएको छ, यसले हाम्रो सिङ्गो टिमलाई थप ऊर्जा र हौसला दिएको छ ।”

निर्देशक चन्दले केही दिनभित्रै चलचित्रको आधिकारिक टिजर पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यो चलचित्रमा विराज भट्ट र सुपुष्पा भट्टका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा जस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।

एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको हो । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् ।

मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य छन् । चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।