चलचित्र ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा
काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
आइतबार निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको यस चलचित्रमा आँचलसहित उषा रजक, निशा शर्मा, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । निशा करिब तीन दशकपछि अभिनयमा फर्किएकी हुन् ।
तीन पुस्ताको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने यो फिल्मले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई चित्रण गर्ने जनाइएको छ ।
चलचित्रमा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको यस चलचित्रमा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन छ ।
‘एक मुठ्ठी बादल’ले ‘युरोपियन पोस्ट-प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड’ प्राप्त गर्ने पहिलो नेपाली चलचित्रको रूपमा इतिहास रचिसकेको छ ।
यस चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।



