‘परालको आगो’ को टिजरमा के छ ?

काठमाडौं । स्व. गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ ।

सोमबार निर्माण टिमले सार्वजनिक गरेको टिजरले चलचित्रको कथाबारे धेरै कुरा प्रत्यक्ष नभने पनि केही महत्त्वपूर्ण संकेतहरू दिएको छ ।

लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रको सार्वजनिक टिजरको सुरुवात नै निकै नाटकीय र मर्मस्पर्शी छ । श्रीमान-श्रीमतीको सानो निहुँबाट सुरू भएको झगडा हिंसासम्म पुगेको दृश्य टिजरमा प्रस्तुत गरिएको छ ।

कथाकार मैनालीले श्रीमान् र श्रीमतीबीचको झगडालाई ‘परालको आगो’ सँग तुलना गरेका थिए, जुन झट्ट बल्छ र उत्तिकै छिटो निभ्छ । टिजरले पनि यही दाम्पत्य जीवनको उतारचढाव, अहङ्कार र प्रेमको त्रिकोणात्मक द्वन्द्वलाई समेटेको छ ।

प्रकाश सपूत र सुहाना थापा श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्, जहाँ श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन् । छिमेकीको रुपमा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खाल्का कुरा प्रकाशले गर्छन् ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुहाना, प्रकाश र सौगातका अलावा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ ।

सुशील पोखरेलको लगानी रहेको यस चलचित्रलाई सुशील देवकोटाले लेखेका हुन् । ‘परालको आगो’मा संकल्प भुजेलको छायांकन, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने रंग संयोजन कनाल कँवरको छ ।

त्यसैगरि, यो ‘परालको आगो’मा भिएफएक्स समिर मिया र सत्यम रानाको रहने छ भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ । मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् ।

यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन् । चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूतको शब्दको छ ।

४५ वर्षअघि पनि निर्देशक प्रताप सुब्बाले यही नाममा चलचित्र निर्माण गरेका थिए । यसपटक लोकेसन, पटकथा तथा प्रस्तुतीकरणलाई फरक ढंगले निर्माण गरिने निर्माता पोखरेलले बताएका छन् ।

‘परालको आगो’ आगामी बैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।