बदलाको कथामा बन्ने ‘मुक्तिपुर’को शुभ मुहूर्त, को-को छन् कलाकार ?

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘मुक्तिपुर’को निर्माण घोषणासँगै छायाकंनको सुरुवात गरिएको छ ।

‘क्राइम रिभेन्ज’ (अपराध र बदला) को कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण हुन लागेको यस चलचित्रको मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

निर्माण टिमले मन्दिरमा स्क्रिप्ट र क्ल्याप पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत सुरु गरेको छ ।

विगत लामो समयदेखि थुप्रै छोटा चलचित्र र वृत्तचित्रहरूको निर्देशनमा आफ्नो कुशलता देखाइसकेका युवा निर्देशक सुनिल पाण्डेले ‘मुक्तिपुर’ मार्फत ठुलो पर्दामा डेब्यु गर्दैछन् । चलचित्रको कथा समेत स्वयम् निर्देशक पाण्डेले नै तयार पारेका हुन् ।

साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा विगत एक दशकदेखि चलचित्र फिल्म निर्माण, अभिनय र प्राविधिक शिक्षा प्रदान गर्दै आएको संस्था ‘एभरेष्ट फिल्म एकेडेमी’ले सहकार्य गरेको छ । एकेडेमीले पहिलोपटक व्यवसायिक चलचित्र निर्माणमा हात हालेको हो ।

चलचित्रको विधाबारे जानकारी दिँदै निर्देशक पाण्डेले ‘मुक्तिपुर’ले एक आम परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा आउने अकल्पनीय मोड र त्यसपछिको बदलाको कथा बोल्ने बताए ।

“यो केवल एउटा बदलाको कथा मात्र होइन, परिस्थितिसँग जुधेर सफल हुने एउटा व्यक्तिको कडा संघर्षको प्रतिविम्ब पनि हो,” उनले भने ।

चलचित्रमा अभिनेता नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती प्रमुख भूमिकामा देखिनेछन् । अभिनेता नाजिर हुसैनले यस चलचित्रलाई आफ्नो करियरको एउटा महत्वपूर्ण ‘इँटा’को रूपमा व्याख्या गरेका छन् । दर्शकले आफ्नो विगतका भूमिकाभन्दा यसमा फरक अभिनय र चरित्र देख्न पाउने उनको दाबी छ ।

यस्तै, म्युजिक भिडियोमा रुचाइएकी मोडल आकृति बुढाथोकीले यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । अनुभवी टिम र स्थापित कलाकारहरूसँग काम गर्न पाउनुलाई उनले आफ्नो ठुलो अवसर र उपलब्धिका रूपमा लिएकी छन् ।

चलचित्रलाई विजय राजवंशी र रोशन पासवानले निर्माण गर्दैछन् भने विशाल श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रमा सम्राट बस्नेत द्वन्द्व निर्देशक, सरद महतो छायांकन र अकी थाक्पा कला निर्देशक रहेका छन् । सह-निर्मातामा केशव गौतम छन् भने लाइन प्रोड्यूसरको जिम्मेवारी सञ्जय गुरुङ र सुरज चौधरी छन् ।

चलचित्रमा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी लगायत दुई दर्जनभन्दा बढी कलाकारहरूको अभिनय रहनेछ ।

४० दिनको छायांकन तालिका सहित फ्लोरमा निस्किएको यो चलचित्र छायांकन सकिएको ६ महिनाभित्रै प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले राखेको छ ।