‘लालिमा’को अग्रिम बुकिङ खुला : पहिलोपटक आमाको चरित्रमा उषा र सेक्स वर्करको भूमिकामा रोशनी

काठमाडौं । नेपाली समाजको एउटा यस्तो पाटो, जसलाई सबैले देख्छन् तर हेर्न चाहँदैनन् । त्यही ‘अदृश्य’ भोगाइ र ३ हजारभन्दा बढी यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूलाई पर्दामा उतार्दै चलचित्र ‘लालिमा’ भोलि (शुक्रबार) बाट देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रले प्रदर्शनअघि नै चर्चा बटुलिरहेको छ ।

चलचित्रको बुधबारदेखि नै अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । चलचित्रले पहिलो दिनका लागि देशब्यापी ७८ वटा शो पाएको छ । केही हलहरूले अझै बुकिङ खुलाउन बाँकी रहेकाले प्रदर्शनको दिनसम्म शो संख्या थपिन सक्ने देखिन्छ ।

अब निर्माण टिमका लागि शुक्रबारको ओपनिङ र प्राप्त शोहरूमा दर्शकको उपस्थिति (अकुपेन्सी) नै भविष्य तय गर्ने मुख्य आधार बन्नेछ ।

यस चलचित्रको केन्द्रिय पात्र ‘लालिमा’ को भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् । आफ्नो करिअरमा पहिलोपटक शीर्ष भूमिका निर्वाह गरेकी रोशनीका लागि यो चलचित्र एउटा ठूलो अवसर र उत्तिकै ठूलो चुनौती पनि हो ।

केही समयअघि पत्रकार भेटघाट कार्यक्रमका क्रममा शीर्ष भूमिकाको प्रस्तवलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेको रोशनीले बताएकी थिइन् ।

उनी भन्छिन्, ‘‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । फिल्म नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’’

यस फिल्मको पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगतरुपमा नौलो अभ्यास गरेको उनले बताइन् । उनी भन्छिन्, ‘‘यो फिल्ममा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुप¥यो । यो मेरो फरक अनुभव हो ।’’

लामो समयदेखि ‘बोल्ड एन्ड ब्युटी’ नायिकाको छवि बनाएकी अभिनेत्री उषा रजक यस पटक भिन्न रूपमा प्रस्तुत हुँदैछन् । उनले यसमा एक ‘आमा’ को भूमिका निर्वाह गरेकी छन्, जो बोल्न सक्दिनन् ।

प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् । यसबारे उषा भन्छिन्, ‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।’

चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजले यो फिल्म मनोरञ्जनका लागि मात्र नभई समाजको एउटा नदेखिएको पाटोलाई ऐना देखाउन निर्माण गरिएको बताएका छन् । साथै उनले २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात ‘लालिमा’ बनेको दाबी गरेका छन् ।

निर्देशक मिराज भन्छन्, “हामीले तीन हजार यौनकर्मी महिलाको अनुभवलाई संकलन गरेर यो कथा तयार पारेका हौं । यसमा एउटी बोल्न नसक्ने आमा र उनलाई कारागारबाट छुटाउन छोरीले गर्ने संघर्षको मर्मस्पर्शी कथा छ । समाजले हेर्ने दृष्टिकोण र एउटी नारीको बाध्यतालाई हामीले व्यावसायिक र कलात्मक ढंगले प्रस्तुत गरेका छौं । दर्शकले यो चलचित्रबाट एउटा फरक सन्देश लिएर फर्कनुहुनेछ ।”

यस्तै, निर्देशक मिराज भन्छन्, ’‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले यौनकर्मी पर्दामा देखिन चाहनुभएन । यो कथा कुनै न कुनै रुपमा दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेर फिचर शैलीमा निर्माण गरेका हौँ ।’’ उनले डकुमेन्ट्रीका लागि सयौँ यौनकर्मीसँग कुराकानी गरेको र उनीहरुकाे प्रतिनिधि अनुभव समेटेर चलचित्र निर्माण गरेको जानकारी गराए । तर चलचित्र बनाउँदा शेाषणभन्दा पनि मानवअधिकारको पक्षलाई प्राथमिकता दिएको उनले बताए ।

फेथ आस्था र एम्पिफाई चेन्जको ब्यानरमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्मातामा रीना लामा छिन् ।

चलचित्रमा रोशनी कार्कीका साथै शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल र घनश्याम जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।