आजबाट हलमा ‘लालिमा’, तान्ला त सेक्स वर्करको कथाले दर्शक ?
काठमाडौं । यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूलाई पर्दामा उतारिएको चलचित्र ‘लालिमा’ आजबाट प्रदर्शनमा आएको छ ।
यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रले दर्शक तान्छ कि तान्दैन भन्ने धेरैमा कौतुहल छ ।
चलचित्रको केन्द्रीय पात्र ‘लालिमा’को भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् । आफ्नो करिअरमा पहिलोपटक शीर्ष भूमिका निर्वाह गरेकी रोशनीका लागि यो चलचित्र एउटा ठूलो अवसर र चुनौती दुवै हो ।
लामो समयदेखि ‘बोल्ड एन्ड ब्युटी’ नायिकाको छवि बनाएकी अभिनेत्री उषा रजक यसपटक भिन्न रूपमा प्रस्तुत हुँदैछन् । उनले यसमा ‘आमा’को भूमिका निर्वाह गरेकी छन् । उनी बोल्न नसक्ने चरित्रमा छिन् ।
चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजले यो सिनेमा मनोरञ्जनका लागि मात्र नभई समाजको एउटा नदेखिएको पाटो भएको बताएका छन् । उनले २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरेपछि ‘लालिमा’ बनाएको बताएका छन् ।
चलचित्रमा रोशनी कार्कीका साथै शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल र घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय रहेको छ ।



