‘टेम्के: द डेस्टिनेसन’ को घोषणा, मुख्य भूमिकामा शिव श्रेष्ठ
काठमाडौं । प्राकृतिक सुन्दरता र धार्मिक महत्व बोकेको खोटाङ र भोजपुरको संगमस्थल ‘टेम्के’ को नाममा नयाँ चलचित्र निर्माण हुने भएको छ । ‘टेम्के: द डेस्टिनेसन’ नाम दिइएको यस चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा विधिवत पूजाआजा गर्दै शुभ मुहूर्त गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त सटको निर्देशन गर्दै क्ल्याप पड्काएर चलचित्रको औपचारिक सुरुवात गरे । अभिनेता शिव श्रेष्ठको मुख्य भूमिका रहने यो चलचित्रले पहाडी क्षेत्रको पर्यटन र सामाजिक परिवेशलाई समेट्ने उद्देश्य राखेको छ ।
समुद्री सतहदेखि २ हजार ९ सय ९५ मिटर उचाइमा अवस्थित टेम्केडाँडा प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । मध्यपहाडी राजमार्गले छोएको यो पर्यटकीय स्थललाई नै केन्द्रविन्दु बनाएर चलचित्रको छायांकन गरिने निर्माण पक्षले जनाएको छ । करिब ६ सय मिटर उचाइको यो थुम्को दृश्यावलोकन र मनोरञ्जनका लागि प्रख्यात छ ।
आर.डी.एस. नेपालको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई देवप्रसाद धिमालले निर्देशन गर्दैछन् । निर्देशकका रूपमा धिमालको यो डेब्यु चलचित्र हो । चलचित्रले टेम्के क्षेत्रको एक स्थानीय पात्रको जीवन संघर्ष र नेपाली समाजको यथार्थ घटनालाई पर्दामा उतार्नेछ ।
निर्देशक धिमालका अनुसार नेपाली समाजमा घटेका वास्तविक घटनाहरूलाई नै रोचक ढंगले चलचित्रमा प्रस्तुत गरिनेछ । विशेष गरी ‘टेम्के’ नामको पात्रले गर्ने संघर्ष र उसको यात्रा नै चलचित्रको मुख्य आकर्षण रहनेछ ।
चलचित्रमा अभिनेता श्रेष्ठका साथै अअर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल, रविना दुलाल लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रको छायांकन नरेश ऐयरले गर्नेछन् भने एक्सन पाटो (द्वन्द्व) राजु किराँतले सम्हाल्नेछन् ।
निर्माण पक्षका अनुसार चैतको दोस्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ । काठमाडौंका केही दृश्यहरू खिचेपछि निर्माण टोली छायांकनका लागि टेम्केडाँडा प्रस्थान गर्नेछ ।



