पर्दामा बराबर तर सधैँ ‘हिरो’को छायामा ‘हिरोइन’

काठमाडौं । सिनेमा रिलिज हुन्छ, हलहरूमा दर्शकको घुइँचो लाग्छ र सामाजिक सञ्जालदेखि चिया पसलसम्म फिल्मकै चर्चा चल्छ । तर, यो चर्चाको केन्द्रमा को हुन्छ ? निसन्देहः हिरो ।

नेपाली चलचित्र उद्योगमा एउटा तीतो सत्य छ, सिनेमा सफल हुँदा त्यसको सारा जस हिरोको पोल्टामा जान्छ, जबकि त्यही फिल्मलाई जीवन्त बनाउन पसिना बगाउने अभिनेत्री अक्सर छायामा पर्छन् । निर्देशक सिनेमाको क्याप्टेन हो, जस हिरोले लिने कि निर्देशकले अहिले त्यतातर्फ नजाऔँ । यो प्रवृत्ति रिलिजपछि मात्र होइन, चलचित्र निर्माण घोषणा भएदेखि नै सुरु हुन्छ ।

पछिल्लो समय नेपाली बक्सअफिसमा केही चलचित्रहरूले राम्रो व्यापार गरिरहेका छन् । तर, ती सिनेमाको ‘ब्राण्डिङ’ र चर्चाको शैली हेर्ने हो भने नेपाली चलचित्र अझै पनि ‘पुरुष स्टार’को काँधमा मात्रै अडिएको प्रस्ट हुन्छ ।

हाल प्रदर्शनरत चलचित्र ‘आबाट आमा’ लाई नै हेरौँ । यो सिनेमाको केन्द्रविन्दुमा आमाको कथा र महिला पात्रहरूको संघर्ष छ । चलचित्रमा दिग्गज अभिनेत्री विपना थापाले आमाको भूमिकामा अभिनय गरेकी छिन् ।

सिम्रन पन्त र उषा उप्रेतीजस्ता सम्भावना बोकेका अभिनेत्रीहरूको अभिनय छ । तर, मिडिया हेडलाइनदेखि फ्यान ग्रुपहरूसम्म पल शाहको मात्रै चर्चा छ । के पल शाहको उपस्थिति बिना यो चलचित्रको चर्चा सम्भव थिएन ? अथवा हाम्रो हेर्ने नजर नै पल शाहमा आएर अडिएको हो ? पल शाहको ठाउँका अनमोल केसी वा प्रदीप खड्का भएको भए पनि चर्चा उनीहरुकै हुन्थ्यो ।

अर्को ब्लकबस्टर चलचित्र ‘जेरी अन टप’मा पनि देखियो । चलचित्र चल्नुअघि र चलेपछि पनि चर्चा अनमोल केसीकै वरिपरि घुम्यो । जबकि यो चलचित्रमा जसिता गुरुङ र आँचल शर्मा पनि उत्तिकै राम्रो भूमिकामा थिए । उनीहरूको अभिनयलाई दर्शकले मन पराए पनि चर्चाको केन्द्रमा अनमोल रहे । ‘क्रेडिट’ उनको पोल्टामा मात्रै पुग्यो ।

किन हुन्छ यस्तो विभेद ?

नेपाली चलचित्रका वितरक र हलवालाहरू अझै पनि ‘स्टार भ्यालु’मा विश्वास गर्छन् । उनीहरूको नजरमा अभिनेताको नामले ‘ओपनिङ’ सुनिश्चित हुन्छ । त्यसैले प्रचार सामग्री (पोस्टर, ट्रेलर)मा पनि अभिनेतालाई नै बढी ‘हाइलाइट’ गरिन्छ । निर्माताहरू पनि आफ्नो लगानी सुरक्षित गर्न अभिनेत्रीको अभिनयभन्दा अभिनेताको ‘क्रेज’ बेच्न रुचाउँछन् । अभिनेतालाई केन्द्रमा राखेर प्रचार गर्छन् ।

अनलाइन न्यूज पोर्टल र युट्युब च्यानलहरू पनि ‘भ्यूज’को दबाबमा पर्छन् । अभिनेत्रीको गम्भीर अभिनयभन्दा ‘सुपरस्टार’ भनिएका अभिनेताका सानातिना कुराहरूमा अल्झिन्छन्, कारण त्यसमा भ्युज छ । अथवा जे मा ट्राफिक छ, त्यसमौ केन्द्रित हुन्छन् ।

यही कारण त हो, विपना थापाको भन्दा पल शाहको ‘क्रेज’ हेडलाइन बन्न पुगे ।

धेरैजसो स्कृप्टहरू अझै पनि पुरुष पात्रलाई ‘रक्षक’ वा ‘हिरो’ बनाएर लेखिन्छन् । अभिनेत्रीलाई केवल हिरोको ‘लभ इन्ट्रेस्ट’ वा कथालाई अगाडि बढाउने सहायक पात्रका रूपमा मात्र खुम्च्याइँदा उनीहरूको चर्चा पनि सहायक नै हुन पुग्छ ।

केही वर्षयता यो प्रवृत्तिमा सानो भए पनि ब्रेक भने लाग्न थालेको छ । ‘आमा’ फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्तको चर्चा कुनै पनि स्टार हिरोको भन्दा कम थिएन । ‘बुलाकी’, ‘चिसो मान्छे’ जस्ता चलचित्रहरूले अभिनेत्रीको भूमिकालाई पनि उत्तिकै सम्मान र चर्चा दिलाएका छन् ।

अभिनेत्रीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की र मेनुका प्रधानले आफ्नै नाममा चलचित्र चल्न सक्छ भन्ने प्रमाण दिइसकेका छन् । तर, व्यावसायिक मसला चलचित्रहरूको हकमा भने अझै पनि हिरोकै दबदबा कायम छ ।

चलचित्र एउटा सामूहिक कला हो । हिरो र हिरोइनी दुवै रथका दुई पाङ्ग्रा हुन् । जबसम्म दर्शक, मिडिया र स्वयं चलचित्रकर्मीहरूले अभिनेत्रीलाई केवल ‘ग्ल्यामर’को साधन मात्र नभई ‘कथाको मेरुदण्ड’ मान्न तयार हुँदैनन्, तबसम्म यो छाया परिरहनेछ ।

प्रश्न अझै बाँकी छ, के हामीले चलचित्र हेरिरहेका छौँ कि केवल ‘स्टार’ को पूजा गरिरहेका छौँ ? अभिनेत्रीहरू छायामा पर्नु उनीहरूको कमजोरी होइन, बरु हाम्रो मूल्यांकन गर्ने पद्धति र उद्योगको परम्परागत सोचको उपज हो । अबको समय ‘स्टार हिरो’को मात्र होइन, ‘सशक्त पात्र र अभिनय’को हुनुपर्छ, जहाँ हिरो र हिरोइन दुवैले बराबर श्रेय र सम्मान पाउन सकुन् ।