शून्य प्रचारमा ‘३६ को आँकडा’ मौनता चैत २७ मा नआउने संकेत हो ?
काठमाडौं । नयाँ वर्षको छेको पारेर रिलिज हुन भन्दै तीनवटा नेपाली चलचित्रले रिलिज डेट लक गरेका छन् । चैत २७ गतेका लागि तीनवटा नेपाली चलचित्र ‘राम नाम सत्य’, ‘छत्तीसको आँकडा’ र ‘डल्लेले इन्ट्री मार्यो’ले रिलिज डेट लक गरेर बसेका छन् ।
तर, हालसम्म सबिर श्रेष्ठको निर्देशनमा बनेको ‘३६ को आँकडा’ले पब्लिसिटीमा त्यति धेरै जोड दिएको छैन । सुरुवाती दिन आएको एउटा पोस्टरबाहेक हालसम्म केही पनि कन्टेन्ट आएको छैन । सँगै रिलिज हुने सिनेमाले धामाधम कन्टेन्ट फाल्न थालिसकेको अवस्थामा ‘३६ को आँकडा’ भने मौन प्राय छ । यसको मुख्य भूमिकामा रहेकी रेखा थापा आफ्नै चलचित्र ‘माया भनेकै यस्तै होला’को एक्सनकट गरिरहेकी छन् ।
शून्य प्रायः गतिविधि र रेखा आफ्नै सिनेमाको निर्देशनमा व्यस्त रहनुले कतै ‘३६ को आँकडा’ चैत २७ गते प्रदर्शन नहुने सुरु कसेर बसेको त हैन भन्ने आशंका जन्मिएको छ । तर, यसबारे निर्माण टिमले हालसम्म केही बोलेको छैन ।
रेखा फिल्मस्ले काइट्स इन्टरटेन्मेन्टसँगको सहकार्य गरेको ‘३६ को आँकडा’मा अभिनेत्री रेखा थापा, पूजा शर्मा, पुष्प खड्का र महेश त्रिपाठी शीर्ष भूमिकामा छन् ।
‘राम नाम सत्य’को मुख्य भूमिकामा विराज भट्ट छन् । ‘डल्लेले इन्ट्री मार्यो’मा सागर लम्साल (बले) मुख्य भूमिकामा छन् । ‘३६ को आँकडा’ चैत २७ मा प्रदर्शन नभए बाँकी दुई सिनेमाले केही राहतको महसुस गर्नेछन् ।
माइकल चन्दको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राम नाम सत्य’मा विराज भट्टसँगै सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापालगायत कलाकारहरुको अभिनय छ ।
एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको हो । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् ।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य छन् । चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ । केही समय अगाडि सार्वजनिक यसको गीत ‘धागोले बाटेको’ लोकप्रिय भइसकेको छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।
‘३६को आँकडा’मा रेखा थापासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठी मुख्य भूमिकामा छन् । सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनिरहेको छ ।
यो चलचित्रले दुई महिला पात्रबीचको तीव्र द्वन्द्वलाई कथाको केन्द्रमा राखेको बताइएको छ ।
एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रमा रेखा थापाको जोडीका रूपमा महेश त्रिपाठी देखिनेछन् । पूजा शर्मा र पुष्प खड्का पहिलो पटक पर्दामा जोडीका रूपमा प्रस्तुत हुँदैछन् ।
निर्माण पक्षका अनुसार चलचित्रले सशक्त महिला पात्र, एक्सन र भावनात्मक द्वन्द्वलाई सन्तुलित रूपमा प्रस्तुत गर्नेछ ।
‘डल्लेले इन्ट्री मार्यो’ सागर लम्साल ‘बले’को आफ्नै होम प्रोडक्सनमार्फत बनिरहेको छ । बलेले फरक धारको चलचित्र बनिरहेको बताएका छन् ।
उक्त चलचित्रको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिने तयारीमा छन् । ‘पाँच पाण्डव’पछि पनि उनी दुई अन्य चलचित्रमा अनुबन्धित भइसकेका छन् ।
बलेसँगै यो चलचित्रमा रोशनी खड्का मुख्य भूमिकामा छिन् ।
राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको चलचित्रमा सागर र रोशनी खड्का, रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइरालालगायतको अभिनय छ ।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको निर्मातामा साबित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी छन् ।
श्याम तामाङले खिचेको सिनेमामा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत, केशवराज भट्टको कोरियोग्राफी छ ।



