९८औं अस्कर अवार्डः ‘वन ब्याटल अफ्टर अनदर’ उत्कृष्ट फिल्म, अरू प्रमुख विधामा कसले जिते अवार्ड ?

लस एन्जलस । विश्व चलचित्र क्षेत्रको कुम्भ मेला मानिने ९८औं एकेडेमी अवार्ड (अस्कर २०२६) मा फिल्म ‘वन ब्याटल अफ्टर अनदर’ ले आफ्नो वर्चस्व जमाएको छ ।

सोमबार बिहान अमेरिकाको लस एन्जलस्थित डल्बी थिएटरमा आयोजित भव्य समारोहमा यस फिल्मले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकसहित महत्वपूर्ण ६ विधामा अवार्ड जित्न सफल भयो ।

पल थोमस एन्डरसनको निर्देशनमा बनेको फिल्म ‘वन ब्याटल अफ्टर अनदर’ यस वर्षको अस्करमा सबैभन्दा प्रभावशाली सावित भयो ।

कुल १३ विधामा मनोनयनमा परेको यस फिल्मले ६ वटा विधामा सुनौलो ट्रफी उचाल्यो । निर्देशक एन्डरसनले यो फिल्मबाट आफ्नो करियरकै महत्वपूर्ण सफलता हासिल गर्दै ‘उत्कृष्ट निर्देशक’ र ‘उत्कृष्ट रूपान्तरित पटकथा’को अवार्ड समेत आफ्नो नाममा गरे ।

यस वर्ष सर्वाधिक १६ विधामा मनोनयन पाएर कीर्तिमान रचेको रायन कुगलरको फिल्म ‘सिनर्स’ ले भने कुल ४ विधामा मात्र सफलता प्राप्त गर्‍यो । तर, यो फिल्मले अभिनय र लेखनका प्रमुख विधाहरूमा बाजी मारेको छ ।

फिल्म ‘सिनर्स’ का लागि माइकल बी. जोर्डनले उत्कृष्ट अभिनेताको अवार्ड जिते। उनले यो विधाका बलिया प्रतिस्पर्धी मानिएका लियोनार्डो डिक्याप्रियो, टिमोथी चालामे, इथन हक र वाग्नर मोउरालाई पछि पार्दै आफ्नो अभिनयको लोहा प्रमाणित गरे । यसैगरी, रायन कुगलरले उत्कृष्ट मौलिक पटकथाको अवार्ड जिते भने फिल्मले छायांकन र मौलिक संगीतमा पनि सफलता पायो ।

फिल्म ‘ह्याम्नेट’ मा उत्कृष्ट अभिनय पस्किएकी जेसी बक्लीले यस वर्षको ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड हात पारिन् । त्यस्तै, सहायक विधा तर्फ अनुभवी अभिनेता सन पेनले ‘वन ब्याटल अफ्टर अनदर’ का लागि उत्कृष्ट सहायक अभिनेता र एमी मेडिगनले फिल्म ‘वेपन्स’ का लागि उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जिते ।

जेम्स क्यामरुनको फिल्म ‘अवतार: फायर एन्ड एश’ ले आफ्नो विरासत कायम राख्दै उत्कृष्ट भिजुअल इफेक्ट्सको अवार्ड जित्यो । यता, फिल्म ‘फ्र्याङ्केनस्टाइन’ ले प्राविधिक विधामा बलियो उपस्थिति जनाउँदै प्रोडक्सन डिजाइन, पोशाक डिजाइन र मेकअप तथा हेयरस्टाइलिङ गरी ३ विधामा अवार्ड कब्जा गर्‍यो ।

अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ उत्कृष्ट ठहरियो भने एनिमेटेड विधामा ‘केपप डेमन हन्टर्स’ ले उत्कृष्ट एनिमेटेड फिल्म र उत्कृष्ट मौलिक गीत (गोल्डेन) गरी दुई अवार्ड प्राप्त गर्‍यो ।

कुल २४ विधामा प्रदान गरिएको यस पटकको अस्कर अवार्डमा मौलिक कथावस्तु र प्राविधिक उत्कृष्टताको फ्युजन देखिएको छ ।

अस्कर २०२६ का मुख्य विजेताहरूको सूची:

उत्कृष्ट फिल्म

‘वन ब्याटल आफ्टर अनदर’

निर्माता: एडम सम्नर, सारा मर्फी र पल थोमस एन्डरसन

उत्कृष्ट निर्देशक

पल थोमस एन्डरसन – ‘वन ब्याटल आफ्टर अनदर’

उत्कृष्ट मुख्य अभिनेता

माइकल बी. जोर्डन – ‘सिनर्स’

उत्कृष्ट मुख्य अभिनेत्री

जेसी बक्ली – ‘ह्याम्नेट’

उत्कृष्ट सहायक अभिनेता

सन पेन – ‘वन ब्याटल आफ्टर अनदर’

उत्कृष्ट सहायक अभिनेत्री

एमी मेडिगन – ‘वेपन्स’

उत्कृष्ट मौलिक पटकथा

रायन कुगलर – ‘सिनर्स’

उत्कृष्ट रूपान्तरित पटकथा

पल थोमस एन्डरसन – ‘वन ब्याटल आफ्टर अनदर’

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म

नर्वे – ‘सेन्टिमेन्टल भ्यालु’

उत्कृष्ट वृत्तचित्र फिचर फिल्म

‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’

उत्कृष्ट वृत्तचित्र छोटो फिल्म

‘अल द एम्प्टी रुम्स’

उत्कृष्ट एनिमेटेड फिचर फिल्म

‘केपप डेमन हन्टर्स’

उत्कृष्ट एनिमेटेड छोटो फिल्म

‘द गर्ल हु क्राइड पर्ल्स’

उत्कृष्ट लाइभ एक्सन छोटो फिल्म

‘द सिंगर्स’ – स्याम ए. डेभिस र ज्याक पियाट
‘टु पिपल एक्सचेन्जिङ सलाइभा’ – अलेक्सान्द्र सिंह र नाताली मुस्तेआता

उत्कृष्ट छायांकन

अटम डुराल्ड अर्कापो – ‘सिनर्स’

उत्कृष्ट फिल्म सम्पादन

एन्डी जुर्गेन्सन – ‘वन ब्याटल आफ्टर अनदर’

उत्कृष्ट प्रोडक्सन डिजाइन

‘फ्र्याङ्केनस्टाइन’

प्रोडक्सन डिजाइन: तमारा डेभरेल

सेट डेकोरेशन: शेन भियो

उत्कृष्ट पोशाक डिजाइन

केट हाउली – ‘फ्र्याङ्केनस्टाइन’

उत्कृष्ट मेकअप तथा हेयरस्टाइलिङ

‘फ्र्याङ्केनस्टाइन’ – माइक हिल, जोर्डन स्यामुअल र क्लियोना फ्युरी

उत्कृष्ट ध्वनि

‘एफ१’ – गारेथ जोन, अल नेल्सन, ग्वेन्डोलिन येट्स व्हिटल, ग्यारी ए. रिजो र हुआन पेराल्टा

उत्कृष्ट भिजुअल इफेक्ट्स

‘अवतार: फायर एन्ड एश’ – जो लेटेरी, रिचर्ड बनेहम, एरिक साइनडन र ड्यानियल ब्यारेट

उत्कृष्ट मौलिक संगीत (ओरिजिनल स्कोर)

लुडविग गोरान्सन – ‘सिनर्स’

उत्कृष्ट मौलिक गीत

‘गोल्डेन’ – ‘केपप डेमन हन्टर्स’

उत्कृष्ट कास्टिङ

क्यासान्द्रा कुलुकुन्डिस – ‘वन ब्याटल आफ्टर अनदर’