‘हामी तीन भाइ’को ट्रेलर: ‘अंश र स्वार्थ’को प्रवेशसँगै सम्बन्ध कसरी धर्मराउँछ ?

काठमाडौं । नेपाली समाजमा एउटा उखान प्रचलित छ– ‘दाजुभाइको मिलन, हात्तीको बल’ । तर, त्यही मिलनमा जब ‘अंश र स्वार्थ’को प्रवेश हुन्छ, तब सम्बन्ध कसरी धर्मराउँछ भन्ने यथार्थपरक कथा बोकेर चलचित्र ‘हामी तीन भाइ’ दर्शकमाझ आउने तयारीमा छ ।

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मधुसुधन भट्टराई निर्देशित चलचित्रको ट्रेलरले यसको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ ।

पारिवारिक ड्रामा, कमेडी र सामाजिक सन्देश रुचाउने दर्शकका लागि एउटा प्याकेज बन्न सक्ने यस्तै संकेत गरेको छ ।

सार्वजनिक ट्रेलरको सुरुवात एउटा सुन्दर गाउँको पृष्ठभूमिबाट हुन्छ, जहाँ तीन दाजुभाइ- विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईको प्रगाढ सम्बन्ध देखाइएको छ ।

बुबाआमाको मृत्युअघिको ‘कहिल्यै नछुटिनु’ भन्ने कसमलाई शिरोपर गर्दै उनीहरूले खेतबारीदेखि भान्छासम्म सँगै बिताउँछन् ।
ट्रेलरमा देखाइएको एउटा रोचक पक्ष के छ भने, भाइहरू दाईको हातको कुटाइ खानुलाई पनि सौभाग्य ठान्छन् । तर, कथामा ट्वीस्ट तब आउँछ जब भाइहरूको जीवनमा जीवनसंगिनीको प्रवेश हुन्छ । विवाहपछि सुरु हुने ‘अंश’ र ‘छुटिने’ कुराले दाजुभाइबीचको त्यो कसिलो सम्बन्धमा बिस्तारै दरार आउन थाल्छ ।

ट्रेलरमा वरिष्ठ कलाकार राजाराम पौडेलको इन्ट्रीले फिल्ममा कमेडीको तड्का थपेको प्रस्ट हुन्छ । दाजुले ‘बुबालाई जिउँदो बनाएर ल्याए मात्र अंश दिन्छु’ भनेपछि भाइहरूले राजारामलाई ‘नक्कली बुबा’ बनाएर ल्याएको दृश्यले दर्शकलाई भरपुर मनोरञ्जन दिने संकेत गर्छ ।

साथै, चलचित्रले अहिलेको जल्दोबल्दो समस्या ‘जग्गा प्लटिङ’ लाई पनि मुख्य विषयवस्तु बनाएको छ । गाउँको खेतबारी बास बस्ने ठाउँ मात्र नभएर व्यापारको वस्तु बन्दा कसरी पारिवारिक सम्बन्धमा चिसोपना आउँछ भन्ने गम्भीर सन्देश ट्रेलरले दिन खोजेको छ ।

प्रसिद्धि सिने आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, विरेन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

यो चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्मातामा छन् । विक्रम तामाङ कार्यकारी निर्माता हुन् । सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् । चलचित्रमा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।