मुन्द्रे र मुन्नीले सम्पन्न गरे ‘कार्की साइँला’को छायांकन
काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकन कार्य सम्पन्न भएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको यस चलचित्रको एक महिनाको छायांकन तालिका (सेड्युल) तय गरिएको भए तापनि कलाकार र प्राविधिकहरूको कडा मिहिनेतका कारण मात्र २१ दिनमै सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्र धनकुटाबाट सुरु भई सुनसरीको चतहरा र प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र आसपासमा खिचिएको हो ।
निर्देशक बस्नेतका अनुसार टोलीको उच्च कार्यक्षमता र आपसी समन्वयले गर्दा समयभन्दा ९ दिन अगावै क्यामेरा ‘प्याकअप’ गर्न सम्भव भएको बताए ।
कर्णबहादुर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र प्रियना आचार्य (मुन्नी) रहेका छन् । यसमा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदै छन् । यो उनीहरूको पहिलो सहकार्य हो ।
जितु र प्रियनाका साथै चलचित्रमा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको चलचित्रमा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ । २ सयभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापा चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा छन् ।
छायांकनको काम सकिएसँगै अब चलचित्रको प्राविधिक काम (सम्पादन) सुरु हुने बताइएको छ । निर्माण टिमले प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।


