‘मालती मंगले’को शीर्ष गीतमा ग्रामीण दम्पतीको प्रेमकथा

काठमाडौं । सुमधुर स्वरका धनी गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।

गीतमा रामकृष्ण र रचना रिमालको स्वर छ भने आनन्द अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । 

आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको सार्वजनिक ‘सुनैको सपनी’ बोलको गीतको भिडियोमा मुख्य कलाकार विजय बराल र वर्षा राउत फिचर्ड छन् ।

सार्वजनिक भिडियोमा विजय बराल र वर्षा राउतलाई एक ग्रामीण जोडीको रूपमा देखाइएको छ । पहाडी भेगको सुन्दर प्राकृतिक दृश्यहरू, खेतीपाती, घाँस-दाउरा गर्ने र मेलापात जाँदाको आत्मीय क्षणहरूलाई भिडियोमा कलात्मक ढंगले समेटिएको छ ।

विजय बरालको सादगी र वर्षा राउतको चञ्चले स्वभावबीचको ‘केमेस्ट्री’ लोभलाग्दो देखिन्छ । विशेषगरी भिडियोमा उनीहरूको प्रेमिल यात्रासँगै सन्तान प्राप्तिको खुसी र पारिवारिक जिम्मेवारीका क्षणहरूलाई पनि सांकेतिक रूपमा देखाइएको छ ।

श्रीमान्-श्रीमतीको भूमिकामा रहेका उनीहरूको सम्बन्धलाई दर्शाउँदै कथावस्तुबारे निर्माण पक्षले झलक दिन खोजेको देखिन्छ । भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् ।

छायाकार महेश पौडेलले नेपालको पहाडी भेगको प्राकृतिक सुन्दरता र ग्रामीण परिवेशलाई निकै आकर्षक ढंगले क्यामेरामा कैद गरेका छन् ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।

यस चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माता रहेको चलचित्रमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।

रामकृष्णले करिब अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘आशीर्वाद’मा शीर्ष भूमिकामा अभिनय गरेका थिए । सोही नाममा २०५० सालमा पहिलो सांगीतिक एल्बम निकालेका उनका दुई दर्जन बढी सोलो एल्बम सार्वजनिक छन् । ‘ओराली लागेको हरिणको चाल भो’ रामकृष्णको सिग्नेचर गीत हो । ‘रिसाउँदा नि आफ्नै’, ‘माया गर्नेको’, ‘मन पराउने हजार’, ‘हीरा काट्ने हीरैमा राखेर’, ‘चरीले छाडेर’, ‘दैव तेरो’, ‘बाँचुञ्जेलीलाई’देखि ‘ममा पनि जलन’, ‘फूलको आफ्नै कथा छ’ सम्मका सयौं गीत उनका लोकप्रिय छन् ।