‘धुरन्धर-२’ ले रिलिजअघि नै तोड्यो रेकर्ड, नेपाली वक्सअफिसमा के गर्ला ?

काठमाडौं । बलिउडमा अहिले एउटा यस्तो फिल्मको चर्चा छ, जसले पर्दामा देखिनुअघि नै सफलताका सबै पुराना मापदण्डहरू भत्काइदिएको छ । अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर: द रिभेन्ज’ ले बक्स अफिसमा एउटा यस्तो ‘जादु’ देखाएको छ, जसको कल्पना स्वयम् फिल्म पण्डितहरूले पनि गरेका थिएनन् ।

फिल्मले प्रदर्शनमा आउनुअघि नै २०० करोड रुपैयाँ भन्दा बढीको ‘एड्भान्स बुकिङ’ गरेर भारतीय सिनेमाको इतिहासमा नाम लेखाएको छ।

यसअघि शाहरुख खानको ‘जवान’ र रणवीर कपुरको ‘एनिमल’ ले एड्भान्स बुकिङमा आक्रामक व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेका थिए । तर, ‘धुरन्धर’ ले यी दुवै ठूला फिल्मलाई निकै पछाडि छाडिदिएको छ । रिलिजअघि नै २०० करोडको आँकडा पार गर्नुले यो फिल्म प्रति दर्शकको कौतुहलता र क्रेज कुन स्तरमा छ भन्ने स्पष्ट पार्छ । यो सफलतासँगै फिल्मलाई उद्योगले रिलिज हुनुअघि नै ‘मेगा ब्लकबस्टर’ को ट्याग दिइसकेको छ ।

यो फिल्मको मुम्बई, दिल्ली, र बेङ्ग्लोर जस्ता ठूला सहरहरूमा फिल्मका सुरुवाती तीन दिनका शोहरू लगभग ‘हाउसफुल’ भइसकेका छन् । फ्यानहरू टिकटका लागि अनलाइन पोर्टलहरूमा घण्टौंसम्म पालो पर्खिरहेका देखिन्छन् । सामाजिक सञ्जालमा फिल्मको ट्रेलरले ल्याएको उत्साहले पनि बुकिङमा ठूलो बल पुर्‍याएको विश्लेषण गरिएको छ ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्मको अभूतपूर्व सफलताले निर्माता र निर्देशक पक्ष निकै उत्साहित देखिएका छन् । फिल्म विश्लेषकहरूका अनुसार यो ट्रेन्ड कायमै रहेमा ‘धुरन्धर’ ले रिलिजको पहिलो दिनमै १०० करोडभन्दा माथिको ओपनिङ गर्दै बलिउडको इतिहासमै पहिलो साता सबैभन्दा बढी कमाउने फिल्मको कीर्तिमान बनाउने निश्चित छ ।

स्पाइ–एक्सन थ्रिलर ‘धुरन्धर: द रिभेन्ज’ले पाकिस्तानविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्छ । फिल्मको कथा पाकिस्तानको कराँचीस्थित लियारी टाउन वरिपरि फैलिएको आपराधिक संसार र जासुसी गतिविधिसँग जोडिएको छ । पहिलो भागपछि यसको कथा अगाडि बढ्दै जाने जनाइएको छ ।

फिल्ममा रणवीरसहित सारा अर्जुन, संजय दत्त, राकेश वादीलगायत कलाकारहरूको अभिनय छ ।

अहिले सबैको नजर फिल्मको पहिलो दिनको आधिकारिक कलेक्सन रिपोर्टमा केन्द्रित छ । यदि ‘वर्ड अफ माउथ’ पनि सकारात्मक आएमा ‘धुरन्धर: द रिभेन्ज’ ले केवल भारतमा मात्र नभई विश्वव्यापी बक्स अफिसमा नयाँ रेकर्डहरू थप्नेछ ।

फिल्मको रनटाइम पहिलो भागभन्दा अझ लामो छ । पहिलो भागको अवधि २१४ मिनेट रहेकोमा ‘धुरन्धरः द रिभेन्ज’ को अवधि २२९ मिनेट अर्थात ३ घण्टा ४९ मिनेट पुगेको छ । यो अवधि ‘धुरन्धर’ भन्दा १५ मिनेट लामो हो ।

योसँगै ‘धुरन्धर २’ बलिउड फिल्मको इतिहासमै लामो फिल्ममध्ये एक बनेको छ । फिल्मले सेन्सर बोर्डबाट ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको अर्थ फिल्मलाई केवल वयस्क (१८ वर्षभन्दा माथि) का दर्शकले मात्र हेर्न पाउनेछन् ।

नेपालमा पनि फिल्म बिहीबार एकसाथ रिलिज हुँदैछ । यसको अघिल्लो भाग ‘धुरन्धर’ ले नेपालमा १० करोड रूपैयाँमाथिको कमाइ गरेको थियो ।

नेपालका सिनेमा हलले यो फिल्मलाई ठूलो संख्यामा शो दिएका छन् । बिहीबारको लागि नेपालमा फिल्मले ३२५ शोज पाएको जनाइएको छ ।

शो संख्या र बुकिङ हेर्दा फिल्मले आक्रामक ओपनिङ गर्ने देखिएको छ । प्रमुख सहरका मुख्य मल्टिप्लेक्समा एड्भान्स टिकट बिक्री तीव्र भइरहेको देखिन्छ ।