आँचलको जन्मदिनमा ‘एक मुठी बादल’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक भएको छ ।

सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्माको २९ औं जन्मदिनको अवसर पारेर निर्माण पक्षले उपहारको रुपमा बिहीबार डेढ मिनेटभन्दा लामो टिजर रिलिज गरेको हो ।

सार्वजनिक टिजर आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ ।

सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । अहिले यो कविता सिनेमाको अभिन्न अंग बनेको उनी बताउँछिन् ।

सहारा भन्छिन्, ‘यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।’

आफ्नो जन्मदिनको अवसरमा टिजर सार्वजनिक हुनुलाई अभिनेत्री आँचल शर्माले एक ‘मीठो संयोग’ को रूपमा लिएकी छिन् । उनले यो चलचित्र आफ्ना अन्य व्यावसायिक चलचित्रहरू भन्दा निकै भिन्न र व्यक्तिगत रहेको बताएकी छिन् ।

आँचल भन्छिन्, ‘मैले धेरै चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेँ, तर ‘एक मुठी बादल’ को माइली पात्रमा म आफैंलाई पाउँछु । यो चलचित्रमा मैले आफ्नै जीवनका कतिपय पाटाहरूलाई पर्दामा उतार्न पाएको महसुस गरेकी छु । यो सन्तुष्टि शब्दमा व्यक्त गर्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ ।’

चलचित्रमा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेको चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ ।

चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

आगामी जेठ १ गते प्रदर्शन हुन लागेको यस चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।