नयाँ कलाकारको खोजी गर्दै दुई वर्षपछि निर्देशनमा फर्किए हेमराज
काठमाडौं । लभस्टोरी सिनेमामार्फत नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक हेमराज विसी करिब दुई वर्षको अन्तरालपछि पुनः निर्देशनको मैदानमा उत्रिने भएका छन् ।
पछिल्लो समय सुपरहिट चलचित्र ‘छक्का पञ्जा ४’ निर्देशन गरेर चर्चामा रहेका विसी अब नयाँ प्रोजेक्टका साथ दर्शकमाझ आउने तयारीमा लागेका हुन् ।
विगत दुई वर्षदेखि संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका निर्देशक विसी केही समयअघि मात्र चलचित्रको प्रारम्भिक तयारीका लागि नेपाल फर्किएका छन् ।
मुनलाइट मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने उनको नयाँ चलचित्रको छायांकन आगामी असार महिनादेखि सुरु गर्ने लक्ष्य राखिएको छ । उनको सिनेमाको छायांकन सुरु गर्नुअघि निर्माण टोलीले कलाकारको छनोट प्रक्रियालाई तीव्र पारेको छ ।
निर्देशक विसीले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै विभिन्न उमेर समूहका कलाकारका लागि अडिसन आह्वान गरेका छन् ।
यस चलचित्रका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका कलाकारको खोजी भइरहेको छ । अडिसन काठमाडौँको भत्केको पुलस्थित एक स्टुडियोमा यही चैत्र १२, १३ र १४ गते सञ्चालन हुनेछ ।
तर, अडिसनमा सिधै पुगेर सहभागी हुन पाइने छैन । इच्छुक कलाकारले अनिवार्य रूपमा इमेल वा फोनमार्फत आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।
हेमराज विसीको यो नयाँ प्रोजेक्टको आधिकारिक नाम अझै घोषणा गरिएको छैन चलचित्र विकास बोर्डमा निर्माण कम्पनीले ‘लोभीपापी’ शीर्षकको दर्ता गराएका थिए । सम्भवतः हेमराजले निर्देशन गर्ने नयाँ चलचित्र यही नै हुने अनुमान गरिएको छ ।
‘होस्टेल’बाट निर्देशन यात्रा सुरु गरेका हेमराजले ‘जेरी’, ‘गाजलु’, ‘ग्याङस्टार ब्लूज’, ‘द ब्रेकअप’, ‘घामड शेरे’ सिनेमाको निर्देशन गरिसकेका छन् ।


