पोखरामा भित्रियो अत्याधुनिक १८ डी सिनेमा, हमालले गरे उद्घाटन
पोखरा । पर्यटन राजधानी पोखरामा अत्याधुनिक ‘१८ डी सिनेमा’ सञ्चालनमा आएको छ ।
फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखराको लेकसाइडस्थित ‘डिज्नील्याण्ड’मा नेपालकै अत्याधुनिक प्रविधियुक्त ‘१८ डी सिनेमा’ सञ्चालनमा ल्याएको हो ।
यसअघि काठमाडौंमा सफल परीक्षण गरिसकेको फ्लाइ नेपालले अब पोखरेली दर्शकलाई पनि यो विश्वस्तरीय प्रविधिको स्वाद चखाउन लागेको हो । शुक्रबारदेखि सञ्चालनमा आएको यस अत्याधुनिक सिनेमाको अभिनेता राजेश हमालले औपचारिक उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले पोखरामा नयाँ प्रविधि भित्रिनु खुसीको कुरा भएको बताए । उनले आफ्नो करियरको सुरुवाती दिन सम्झिँदै भने, ‘पोखरा मेरो लागि निकै प्रिय सहर हो । मैले आफ्नो करियरको तेस्रो फिल्म ‘देउकी’ को छायांकन यहीँ गरेको थिएँ । आज वर्षौपछि यहाँ अत्याधुनिक सिनेमाको उद्घाटन गर्न पाउँदा खुसी लागेको छ ।’
साथै, हमालले यो सिनेमा केवल मनोरञ्जन मात्र नभई दर्शकका लागि एक भिन्न संसारको अनुभूति हुने विश्वास व्यक्त गरे । ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै फिल्म छायांकन हुन्छन् । अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो,’ उनले भने ।
हमालले कार्यक्रममा अब बन्ने सरकारले नयाँ गतिविधिमा लाग्ने उद्यमीहरूलाई प्रोत्साहन गर्दै देशमा लगानी र रोजगारीको वातावरण सिर्जना गर्न ध्यान दिनुपर्ने धारणा समेत व्यक्त गरे ।
काठमाडौंपछि पोखरामा आफ्नो दोस्रो शाखा विस्तार गरेको कम्पनीले यसलाई नेपालकै पहिलो अत्याधुनिक प्रविधिको सिनेमा दाबी गरेको छ ।
यस सिनेमाको सबैभन्दा ठूलो विशेषता भनेको यसको ‘ग्लास-फ्री’ प्रविधि हो । सामान्यतया थ्री-डी वा सोभन्दा माथिका सिनेमा हेर्दा विशेष चश्मा वा हेडसेटको आवश्यकता पर्छ, तर पोखरामा भित्रिएको यो १८ डी सिनेमामा कुनै चश्मा वा हेडसेट नलगाई दर्शकले यथार्थपरक र रोमाञ्चक दृश्यहरूको अनुभव लिन सक्नेछन् । यसले गर्दा साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले सहजै यो अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
फ्लाइ ओभर इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि पोखरामा दोस्रो शाखा विस्तार गरेको बताए ।
काठमाडौंको भन्दा पोखराको प्रविधि अझ उन्नत रहेको बताउँदै उनले ‘१८ डी सिनेमा’मा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक सिनेमामार्फत दर्शकले रोमाञ्चक अनुभव लिन पाउने दाबी गरे ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । अब पोखरेली दर्शकले भित्री रूपमा पनि साहसिकता महसुस गर्न पाउने उनको भनाइ छ ।
‘१८ डी सिनेमा’मा विभिन्न इफेक्टमार्फत दर्शकले आफू फिल्मको वास्तविक संसारमै समावेश भएको अनुभूति गर्न सक्ने उनी बताउँछन् ।


