‘हामी तीन भाइ’को ‘झम्के फुली’मा छमछमी नाचे फलित, जाहन्वी, कुशल र आश्मा
काठमाडौं । मधुसूदन भट्टराईले निर्देशनमा तयार भएको चलचित्र ‘हामी तीन भाइ’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले लोक लयको गीत सार्वजनिक गरेको छ ।
चैत १३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिमले पोस्टर र टिजरपछि शुक्रबार ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ बोलको पहिलो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा गायक साप शक्ति र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । यस गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन् भने संगीत स्वयम् गायक साप शक्तिले नै भरेका हुन् । गीतलाई महाराज थापाले संगीत संयोजन (एरेन्ज) गरेका छन् ।
युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फलित राई, जाहन्वी बस्नेत, कुशल विष्ट र आश्मा गिरी छन् ।
नेपाली समाजको ग्रामीण परिवेश, पुराना ढुङ्गे धारा, मन्दिरका परिसर र प्राकृतिक सुन्दरतालाई भिडियोमा उतारिएको छ । भिडियो हेर्दा कुनै कृत्रिम सेटभन्दा पनि वास्तविक नेपाली गाउँघरको आँगनमा नाचगान भइरहेको आभास हुन्छ ।
गीतको शब्द जस्तै भिडियोमा कलाकारहरूको पोशाक र श्रृङ्गारमा निकै ध्यान दिइएको छ । अभिनत्रीहरू जाहन्वी बस्नेत र आश्मा गिरीलाई परम्परागत गुन्यु–चोलो, झम्के बुलाकी, फुली र ढुङ्ग्री जस्ता गहनामा सजिएको देख्न सकिन्छ । यस्तै, अभिनेताहरू फलित राई र कुशल बिष्ट दौरा–सुरुवाल, इस्टकोट र ढाका टोपीमा ठाँटिएका छन् ।
सामाजिक कथावस्तु र हास्यव्यङ्ग्य (कमेडी) विधामा आधारित यो चलचित्र विनोद न्यौपाने, कुशल विष्ट र फलित राई अर्थात् ‘तीन भाइ’ को कथाको वरिपरि घुमेको छ ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् । साजित महत प्रस्तुतकर्ता तथा विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह-निर्माताको रूपमा छन् ।
चलचित्रमा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।


