प्रकाश सपूतले रास्वपा छाडेका हुन् ?, भन्छन्- अब राजनीति होइन, गीत-संगीतकै संसारमा हराउँछु
काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रकाश सपूतले सक्रिय राजनीतिबाट तत्कालका लागि विश्राम लिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने लक्ष्यसहित राजनीतिमा होमिएका सपूत अन्तिम सूचीमा नसमेटिएपछि पुनः कलाकारितामै फर्कने निर्णयमा पुगेका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत लामो स्ट्याटस लेख्दै उनले आफ्नो राजनीतिक यात्रा, आगामी योजना र पार्टी सभापति रवि लामिछानेसँग भएको संवादलाई सार्वजनिक गरेका छन् ।
सपूतले बालेन शाहको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्ने प्रक्रियाको आफू सानो हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै, उनले हचुवाको भरमा नभई सोचविचार गरेरै राजनीति रोजेको र आफ्नो राजनीतिक यात्राका तीन मुख्य उद्देश्य रहेको खुलाएका छन् ।
१. पुरानो राजनीतिक बेथिति अन्त्य गर्न नयाँ शक्तिका रूपमा रास्वपालाई स्थापित गराउन सहयोग गर्ने ।
२. बालेन शाहको नेतृत्वमा मुलुकमा स्थिर सरकार निर्माणका लागि माहोल बनाउने ।
३. उत्पीडित र दलित समुदायका मुद्दालाई नीतिगत तह (सदन) बाटै सशक्त रूपमा उठाउने ।
उनले लेखेका छन्, ‘म सांसद नभए पनि मेरो एजेन्डा र नयाँ शक्ति स्थापना गर्ने उद्देश्य पूरा भएको छ । छोटो तयारीमा उत्कृष्ट नतिजा ल्याएको विद्यार्थीजस्तै म हर्षित छु ।’
सांसदको सूचीमा नपरेपछि रास्वपा सभापति रवि लामिछानेले सपूतलाई फोन गरेर पार्टीमा रहेर योगदान गर्न वा कुनै राजनीतिक नियुक्ति लिएर काम गर्न प्रस्ताव गरेका थिए । तर, सपूतले कुनै पनि लाभको पद लिन अस्वीकार गरेको उल्लेख गरेका छन् ।
उनले लामिछानेलाई दिएको जवाफ उद्धृत गर्दै लेखेका छन्, ‘म व्यक्तिगत स्वार्थका लागि तपाईंहरूकहाँ आउने छैन । मलाई कुनै निकायमा नियुक्ति दिने सोच नराख्नुहोला । चुनावी अभियानका क्रममा सडकमा सानो माइक समातेर गीत गाउँदा मभित्रको ‘स्टार’ कलाकार रोएको थियो । अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु ।’
सपूतले आफ्नो राजनीतिक योजनालाई विश्वप्रसिद्ध कोरियन समूह ‘बीटीएस’सँग तुलना गरेका छन् । बीटीएसका सदस्यहरूले दुई वर्ष सैनिक सेवामा देशलाई दिएर पुनः संगीतमा फर्किएझैँ आफूले पनि जीवनका पाँच वर्ष देशका लागि दिने सोचेको उनले बताएका छन् । तर, परिस्थितिले उनलाई पुनः सिर्जनात्मक संसारमै फर्काएको उनको बुझाइ छ ।
राजनीतिक ‘ह्याङओभर’ बाट मुक्त हुँदै प्रकाश अब सांगीतिक कार्यक्रममा व्यस्त हुनेछन् । आगामी चैत १७ (मार्च ३१) मा उनी आयरल्याण्डमा आयोजना हुने ‘चैते दसैँ म्युजिक कन्सर्ट’ मा सहभागी हुँदैछन् । उनले अब आफूलाई कुनै राजनीतिक कार्यकर्ताका रूपमा नभई केवल एउटा ‘इन्टरटेनर’ का रूपमा समाजमा उभ्याउने दृढता व्यक्त गरेका छन् ।
सपूतले अन्त्यमा लेखेका छन्, “मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर अब केवल एउटा कलाकार हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु ।”
यस्तो छ सपूतको स्ट्याटस
विश्व प्रसिद्ध कोरियन संगीत समूह बिटिएसले २ वर्ष सेनाका रूपमा देशलाई सेवा गरेर फर्किएपछि आज मार्च २१ तारिख लाइभ कन्सर्ट सहित आफ्नो नयाँ एल्बम रिलिज गर्दैछ । नेटफिलिक्समा लाइभ स्ट्रिम गरिने कन्सर्टको संसारभरिका फ्यानहरू प्रतीक्षा गरिरहेका छन् ।
विटिएसले २ वर्ष देशलाई दिए जस्तै मैले पनि मरिजाने चोलाको ५ वर्ष देशलाई दिने सोचेको थिए । छोटो समयमा मानसिक र व्यवहारिक रूपमा तयार भइरहेको थिए । किनकि जीवनको कुनै न कुनै मोडमा देशको कुनै कार्यकारी निकायमा बसेर काम गर्ने सोच पहिले देखिकै हो । अहिले त्यो संयोग र अवसर मिलेको थियो । मैले होस हवासमै निर्णय लिएको थिए र निर्वाचनमा होमिएको थिए ।
हुन त नेता वा संसद् हुने मात्रै नियत भएको भए यस अगाडि पनि त्यस्तो अवसर आएको थियो । त्यसैले यसपालि आफू प्रतिनिधि सभामा जाने मात्रै मेरो उद्देश्य थिएन, मेरो मूलतः ३ वटा उद्देश्य थिए जुन मैले डे वान देखि भन्दै आएको छु
१ – नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने
२- बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागी पर्ने
३- यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पीडित हाम्रो समुदायको अनुहार देखाइरहने र झकझकाई रहने ।
यी ३ उद्देश्यले होमिएको निर्वाचन पछि मलाई “ म छुटे” भन्ने त लागेको छ तर आफ्नो उद्देश्य पुरा भएकोमा छोटो तयारीका बिच उत्कृष्ट नम्बर लिएर पास भएको कुनै स्कुले विद्यार्थी जस्तै: फुरुङ्ग भएको छु । मेरो कुनै गुनासो छैन । म मेरा केही शुभेच्छुक, मेरो जन्म गाउँ, जिल्ला र जो मलाई सदनमा देख्न चाहन्थे उनीहरूका निम्ति दुखी छु । तर, मैले मेरो निम्ति र कुनै क्षेत्र विशेष उम्मेदवारको निम्ति भनेर कुनै ठाउँमा भोट मागिन, समग्रमा यसपालि परिवर्तनको पक्षमा भोट हाल्न आग्रह गर्दै हिँडे ।हुन पनि त्यस्तै भयो । एक प्रकारले यसपालि हामी सबैको मत गोप्य रहेन । हामी सबै परिवर्तनको पक्षमा भइयो भनुम्न ।
खैर, “मामुली गायक, चटके, जो पनि नेता, अवसरवादी जे जे भने पनि म एउटा उत्पीडित समुदायमा जन्मिएको, समाज देखेको र बुझेको आम नागरिक मध्येको एक हुँ । राजनीतिक परिवर्तन देख्दै र भोग्दै हुर्किएको पुस्ता हुँ । म उमेरले १२- १३ वर्षको हुँदा देखिनै समाज प्रति मेरो ख्याल विरोधाभास थियो । म कहिले बम बोकेर सूर्य पण्डितको घरमा छिरेको कल्पना गर्थे, कहिले पैसाको बिटोले भण्डारी साहुको मुखमा हानेको कल्पना गर्थे । यसरी जातीय र वर्गीय रूपमा अपहेलित भएकाले मेरो बाल मनोविज्ञानमा एक प्रकारको कुण्ठा र आक्रोश स्वाभाविक थियो । तर, समाजमा बाँच्न हामीले सहँदै, सद्भाव राख्दै आयौ । मैले आफ्नो उग्र कल्पनाशीलतालाई शालीन सिर्जशीलतामा ढाले । त्यसैले पेशाले कलाकार भए पनि कहीँ न कहीँ राजनैतिक र सामाजिक चेत धेरथोर छ । समाजको चिन्ता र माया छ । मैले बालेनसँगको भेटमा भनेको थिए- “ गणतन्त्र स्थापना पछि म किन जनयुद्धमा गइन भन्ने पछुतो लागिरह्यो । ६२- ६३ को जन आन्दोलनमा पनि म छुटे । तपाई काठमाण्डुको मेयर उठ्दा पनि हामीले सहयोग गर्ने आँट गरिएन । रास्वपा सुरुवात हुँदै गर्दा सोविता गौतम जीले प्रकाश जी अब गीतले मात्रै टेरेनन्, आउनुस् राजनीति मार्फत सदनमै पुगेर थर्काउन जाऊँ भन्दा पनि अहिले हतार नगरौँ भन्ने लाग्यो। अब अहिले जेनजी आन्दोलन पछि फेरी देशले नयाँ खालको राजनैतिक परिवर्तन खोजेको छ । म तपाईँहरू सँगै हिँड्न चाहन्छु बालेन जी । यो परिवर्तनको साची र सारथि हुन चाहन्छु । मैले परिवर्तन स्पष्ट देखेको छु । म फेरी छुट्न चाहन्न । म पछुताउन चाहन्न ।” मैले भनेको थिए
हुन त देशका लागी केही गर्न पद नै चाहिने भन्ने त होइन । यत्तिकै पनि त योगदान गर्न सकिन्छ हैन र ? हो, सकिन्छ । तर प्रभाव पर्ने गरी काम गर्न भूमिका चाहिन्छ । नत्र टेलिभिजनबाट खबरदारी गरिरहेका रबि लामिछाने पार्टी खोलेर आउने थिएनन्, हिप-हप मार्फत समाज बोलिरहेका बालेन लौरो लिएर उठ्नु पर्दैन थियो । त्यसैले भूमिका चाहिन्छ । यसपालि त झन् एउटा विशेष परिस्थिति हो ।ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त हुँदै थियो । यदि सांसद भएको भए के- के गर्न सकिन्छ भन्ने तयारी र छलफल पनि हामीले थालेका थियौ । ग़ैरराजनीतिक दलितअधिकारकर्मीहरुसंग म निरन्तर छलफलमा थिए । संस्कृतिकर्मी र पर्यटन व्यवसायीहरुसंग निरन्तर कुराकानी भइरहेको थियो । किनकि मलाई पहिलो उत्पीडित समुदायको मुद्दामा र अर्को नेपाली रैथाने मौलिक संस्कृतिको क्षेत्रमा ठोस नीति र योजना बनाएर काम गर्न सकिन्छ भन्ने लागेको थियो । धेरै थोक गर्न नखोज्ने यस्तै २/३ वटा विषयलाई फोकस गरेर यो पाँच वर्ष संसदीय अभ्यास गर्ने र ३ तहकै सरकार सँग समन्वय गरेर फिल्डमै खटिएर पनि काम गर्ने सोच बनाएका थियौ । एउटा इमानदार जन प्रतिनिधिको आँखाले देश देख्ने धोको थियो ।
ह्यात्तेरी, कस्तो धोको रह्यो भन्या !
समानुपातिकमा नअट्ने भएपछि सभापति रवि दाइले फोन गर्नु भयो- “प्रकाश जी तपाई छुट्नु भयो । तपाई जत्तिको मान्छेले संवैधानिक व्यवस्था बुझ्नु हुन्छ । केही छैन । तपाईँले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा मुद्दा हो । त्यसमा प्राथमिकताका साथ काम हुन्छ । बरु अब तपाईँको आगामी राजनीतिक यात्रा बारे केही सोच छ भने मलाई भन्नु होला । पार्टीमा बसेर पनि देशको निम्ति योगदान गर्न सकिन्छ । राजनीतिमा रुचि छैन भने पहिले जस्तै स्वतन्त्र रूपमा आफ्नो सिर्जना मार्फत हामीलाई सहयोग र खबरदारी गर्नु होला “
मैले भने-
“एउटा व्यावसायिक कलाकारको रूपमा मलाई अलि अलमल त पक्कै भयो, मेरो समय म बिस्तारै ठिक गर्दै जाउँला । देशको समय सुध्रियो भने हामी सबैको समय राम्रो हुन्छ । यसपालि देशको समय राम्रो हुने देखिएको छ । अहिले तपाईँको नेतृत्वमा झण्डै २ तिहाइ सहितको शक्तिशाली पार्टी बनेको छ रास्वपा । बालेनको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्दै छ । यो प्रक्रियाको एउटा सानो हिस्सा बन्न पाउँदा मेरो मनले मलाई धन्यवाद दिइरहेको छ । आगामी कयौँ पुस्ताले धन्यवाद दिने गरी काम गर्नुहोला । अब साँच्चिकै देश बन्छ भन्ने अनुभूति दिलाउनुहोला । यो देश हामी सबैको हो भन्ने महशुस गराउनु होला । यदि अहिले परिवर्तनको पक्षमा उभिएकै कारण मेरो कलाकारिताको कद घट्दै गएछ भने मेरो माइक समाउने हातले गाउँ फर्केर हलो समाउन सक्छ । गरिखान सकिन्छ । पिर छैन । म आफ्नो व्यक्तिगत स्वार्थको लागी कुनै दिन तपाईँहरू कहाँ आउने छैन । मलाई कतै एड्रेस गर्न कुनै निकायमा नियुक्ति दिने यताउता सुझाव देलान् । त्यता केही नसोच्नुहोला । चुनावी अभियानका क्रममा बिराटनरको चाँदनी चोकमा २०/३० जनाको अगाडि हाते माइकमा गीत गाउनु पर्दा म भित्रको एउटा स्टार कलाकार रोएको थियो । आज तपाईँको फोनले त्यो स्टारको आँसु पनि पुछियो । एउटा नेतृत्वमा हुने पर्ने यो गुण तपाईँमा सधैँ भइराखोस् । म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु ।
म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।”


