आइतबार ५१ दिन मनाएको ‘आबाट आमा’ ले शनिबारसम्म कति कमायो ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि यो वर्ष व्यावसायिक रूपमा ‘मिश्रित’ सावित भएको छ । एकातिर अधिकांश चलचित्रहरूले प्रदर्शनको केही दिनमै हलबाट उत्रिनुपर्ने अवस्था झेलिरहेका छन् भने, अर्कोतिर केही सीमित चलचित्रहरूले बक्स अफिसमा पैसाको वर्षा गराएका छन् ।

यस वर्षको बक्स अफिस कलेक्सनमा मुख्य गरी चार चलचित्रहरू ‘परान’, ‘आ बाट आमा’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ को वर्चस्व देखिएको छ ।

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा अभूतपूर्व व्यापार गर्न सफल भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार गत शनिबारसम्म यो चलचित्रले कुल १३ करोड १० लाख ९२ हजार ७७६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रलाई शनिबारसम्म ५ लाख ३ हजार ११४ जना दर्शकले हेरेका छन् ।

चन्द्र पन्तले निर्देशन गरेको चलचित्रमा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको निर्माण टिमले आइतबार काठमाडौंमा एक विशेष समारोह आयोजना गर्दै चलचित्रको सफलताको खुसी साटेको छ ।

‘आबाट आमा’ को व्यवसायिक सफलतासँगै ‘आबाट आमा २’ को समेत घोषणा भइसकेको छ । त्यसको छायांकन आगामी बैशाखको दोस्रो साताबाट सुरू गर्ने निर्माण पक्षको तयारी छ ।

यो वर्ष सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा ‘परान’ पहिलो स्थानमा छ । क्रमशः ‘परान’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ले १७ करोड ८४ लाख ४७ हजार, १२ करोड २६ लाख ६ हजार र ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।

यी चलचित्रले नेपाली बजारबाट करोडौंको व्यापार गर्दा अन्य चलचित्रको अवस्था भने चिन्ताजनक देखिएको छ ।

यस्तै, बक्स अफिस रिपोर्ट अनुसार माघ २३ बाट प्रदर्शनमा आएको यस चलचित्र ‘कुमारी’ ले ६६ लाख २५ हजार ४५१ रुपैयाँ कमाउँदै २० हजार ८१७ टिकट बिक्री गरेको छ ।

माघ २३ कै अर्को रिलिज ‘रमिताको पिरती’ ले ३० लाख ८४ हजार ८४३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यसलाई ९ हजार ९७६ दर्शकले हेरेका छन् ।