‘लालिमा’को ग्रसकलेक्सन अंक जति दर्शकले ‘आ बाट आमा’ हेरे
काठमाडौं । चलचित्र ‘आ बाट आमा’ यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने दोस्रो चलचित्र बन्दा बक्सअफिसमा उत्साहजनक कमाई गरिरहेको छ ।
गत शनिबार रातिसम्म यो चलचित्रले १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रसकलेक्सन गरेको यो चलचित्र हेर्न हलमा ५ लाख ३ हजार ११४ जना दर्शक हल पुगेका छन् ।
५ लाख दर्शकले चलचित्र हेर्दा सिनेमा सुपर हिट हुने रहेछ । ‘आ बाट आमा’ सँगै रिलिज भएका र त्यसपछिका चलचित्रले दर्शक र मेकरलाई लगातार निराश बनाइरहेका छन् । पछिल्लो समय रिलिजपूर्व चलचित्रका प्रचार सामग्रीमा दर्शकले उत्साह देखाएको ‘लालिमा’ले पनि हलका भने उल्लासमय वातावरण सिर्जना गर्न सकेन ।
गत शनिबार रातिसम्म यो चलचित्र हेर्न २ हजार ४० जना दर्शक हलमा पुगेका छन् । २ हजार ४० जना दर्शकले हेर्दा ‘लालिमा’ले पाँच लाख २९ हजार ७३८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
यी दुई सिनेमाको तथ्यांकलाई हेर्दा ‘लालिमा’ले गरेको ग्रसकलेक्सनको अंक जति ‘आ बाट आमा’ हेर्ने दर्शकको संख्या छ । अथवा ‘आ बाट आमा’ ५ लाख ३ हजार दर्शकले हेरेका छन् भने ‘लालिमा’ले जम्मा ५ लाख २९ हजार रुपैयाँ मात्रै कलेक्सन गरेको छ ।
‘लालिमा’ यौनकर्मीहरूको कथा र व्यथालाई पर्दामा उतार्ने प्रयास गरेको चलचित्र हो । रोशन मिराजको निर्देशन रहेको चलचित्रमा रोश्नी कार्की, जीवन भट्टराई, उषा रजक र शिशिर बाङ्देलले मुख्य भूमिका निर्वाह गरेका छन् । सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
‘आ बाट आमा’लाई भने चन्द्र पन्तले निर्देशन गरेका छन् । यो चलचित्रमा पल शाह, विपना थापा, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘आबाट आमा’ को व्यवसायिक सफलतासँगै ‘आबाट आमा २’ को समेत घोषणा भइसकेको छ ।

