चलचित्र ‘तेल भिसा’का निर्माता कार्की पक्राउ
काठमाडौं । नेपाली चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्कीलाई ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई सोमबार काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको हो ।
सिन्धुलीको सुनकोसी गाउँपालिका-७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी बस्ने ४४ वर्षीय कार्कीमाथि विभिन्न व्यक्तिहरूलाई अमेरिका, न्यूजिल्याण्ड र युरोपका विभिन्न देशहरू (क्रोएसिया, ग्रिस, इटाली, सर्बिया) पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको आरोप छ ।
प्रहरीका अनुसार कार्कीले प्रतिव्यक्ति १ लाखदेखि २० लाख रूपैयाँसम्म असुल गरेका थिए । उनले झन्डै २०० देखि २५० जना व्यक्तिलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको प्रहरीको दाबी छ । हालसम्म १०० जनाभन्दा बढी पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ ।
कार्कीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणले गत भदौ ४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी कानुनी कारबाहीबाट बच्न विगत तीन महिनादेखि लुकिछिपी बस्दै आएका थिए । हालै सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले विगत ३ महिनादेखि भारतको नँया दिल्ली स्थित पहाडगंजमा अन्नपूर्ण फास्टफुड खोली बसेको साथै भारत सरकारद्वारा जारी भएको आधार कार्ड र प्यान कार्ड समेत लिएको अनुसन्धानमा खुलेको छ ।
कार्कीले काठमाडौंको चाबहिलमा विगत १० वर्षदेखि ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ नामक भिसा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए । सोही कन्सल्टेन्सीको आडमा उनले मानिसहरूलाई विदेश पठाउने भन्दै रकम संकलन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध यसअघि प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भइसकेको छ ।
गत मंसिर ७ गते प्रदर्शनमा आएको चलचित्र ‘तेल भिसा’ अमेरिका बस्ने नेपालीको कथामा आधारित छ । यो चलचित्रको छायांकन अमेरिका र नेपालमा गरिएको थियो ।
यसअघि २०८१ सालको कात्तिक अन्तिममा चलचित्रका निर्देशक शंकर घिमिरे र उनकी श्रीमती अभिनेत्री एवं निर्मात्री ऋचा घिमिरे विरुद्ध पनि अमेरिका लैजान्छु भनी ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पठाइएको छ । उनीमाथि लागेका बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीका मुद्दाहरूमा थप सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

