‘चलचित्रसँग सम्बन्धित संघसंस्था बन्द गरिदिए हुन्छ’

काठमाडौं । नेपाली चलचित्रसँग सम्बन्धित थुप्रै संघसंस्था छन् । आधा दर्जनभन्दा धेरै संघसंस्था चलचित्रसंग सम्बन्धित छन् । यी संघसंस्थाको एउटै उद्देश्य छ, र त्यो हो– नेपाली चलचित्र क्षेत्रको हकहितको संरक्षण तथा उत्थान ।

चलचित्र संघ, चलचित्र कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, निर्देशक समाजलगायतका संघहरू छन् । यी संस्थाको काम सिनेमाको उत्थान र यसमा कार्यरत व्यक्तिको हकअधिकार स्थापित गर्दै संस्थागत गर्नु हो ।

तर, उद्देश्य अनुसार यी संस्थाले काम गरेका छन् अथवा छैनन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । निर्देशक समाज छ, जसको फेसबुक पेज हेर्‍यो भने यसका सदस्य अथवा निर्देशकहरूलाई जन्मदिनको शुभकामना दिनु मात्रै हो कि भन्ने भान हुन्छ ।

एकाध चलचित्र निर्देशन गरेका मात्रै यो संस्थाको नेतृत्वमा पुगेका छन् । हिट सिनेमाका निर्देशक यो संस्थामा आकर्षित नै हुन सकेका छैनन् । चलेका चलचित्रका नाम चलेका निर्देशक निर्माता संघको सदस्य लिएर त्यसमा पदाधिकारी छन् । त्यसैले निर्देशक समाजले जसका लागि खोलिएको हो, त्यसैलाई आकर्षित गर्न सकेको छैन ।

प्राविधिक संघ, जसको काम राहत वितरण गर्नु हो कि प्राविधिकको लक्षता अभिवृद्धिमा केन्द्रित हुनु हो कन्फ्युजन हुन्छ ।

प्राविधिक संघ प्राविधिकलाई दक्ष बनाउनेतर्फ भन्दा पनि राहत संकलन गरेर अफ्ठ्यारो पर्दा वितरणमा लागेको देखिन्छ । आफ्ना सदस्य, जो अफ्ठ्यारोमा परेका छन्, उनीहरूलाई सहयोग गर्नु नराम्रो त होइन, तर मुख्य धर्म नै निर्वाह गर्न चुकेपछि अरु काम गरेको के औचित्य ।

निर्माता संघ भने केही सक्रिय देखिएको छ । चलचित्र प्रदर्शकहरूसँग नेगोसिएसन गरेर केही हदसम्म भए पनि चलचित्रको सेयर बाँडफाँटमा निर्मातालाई राहत प्रदान गरेको छ । चलचित्र ऐनमा सुझाव दिनेलगायत केही काम गरेको देखिन्छ ।

अर्को संस्था छ, चलचित्र पत्रकार संघ । पत्रकार आफैँमा स्वतन्त्र हुन्छ । तर, यो संस्था निर्माताहरूबाट धेरै टाढा जान सकेको छैन ।

निर्माताहरूलाई अन्न दाता सम्झिएर उनीहरूलाई आश्रयदाता सम्झिरहेको भान यसका गतिविधिले प्रष्ट पार्छ । सिनेमा नबने हामी पत्रकार नै रहँदैनौँ भन्ने मानसिकतामा रहेको देखिन्छ ।

चलचित्र कलाकार संघ छ, यो संस्था प्रायः नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा मात्रै अस्तित्वमा रहेको अनुभूत हुन्छ ।

चलचित्र क्षेत्रसँग सम्बन्धित अधिकांश संघसंस्था आफ्नो उत्तरदायित्व के हो भन्ने नै भुलिरहेका छन् । यसलाई चलचित्र निर्देशक केपी पाठक सिनेमाको उत्थान र विकासका नाममा खोलिएको ‘खुद्रा दोकान’ भएको टिप्पणी गर्छन् ।

‘केही काम गर्न नसक्ने र नचाहने खुद्रे दोकान हुन्, यसको कुनै काम छैन । बन्द गरिदिए हुन्छ,’ निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका केपी भन्छन्, ‘चलचित्र विकास बोर्डबाट बजेट पाइन्छ कि भनेर च्याँखे थापेर बसेका पसल हुन्, यी हुँदा पनि केही फरक छैन, नभए पनि कही फरक छैन । बोर्डको बजेट सक्ने काम बाहेक यीनले केही काम गरेका छैनन् ।’

चलचित्रसँग सम्बन्धित संघसंस्थाले सिनेमाको बजार विस्तार गर्ने, सिनेमाको लिट्रेसी बढाउने, दक्ष प्राविधिक उत्पादन गर्ने, कलाकारको क्षमता अभिवृद्धि गर्ने, चलचित्रकर्मीको हकहित र आर्थिक सुरक्षाका लागि भूमिका खेल्नु पर्ने तर त्यसो नगरेको उनको गुनासो छ ।

पछिल्लो छिल्लो समय यी संघसंस्थाको निर्वाचन आउँदा सक्रिय हुने र चुनाव सकिएपछि मौन बस्ने प्रवृत्ति र आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर केवल ‘मौसमी सक्रियता’ मा सीमित भएका छन् । त्यसैले यस्तो संघसंस्था हुनु र नहुनुको कुनै औचित्य नरहेकोमा केपीको तर्क छ ।