‘यानीमाया’मा पल र अन्जनाको जोडी
काठमाडौं । पल शाह अब फिल्म निर्माणमा अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ ।
ओम प्रतीकले निर्देशन गर्ने यो चलचित्रको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
निर्मातामध्येका एक र सुवेदीबीच आन्तरिक मतभेदका कारण निर्देशक हेरफेर भएपछि उनको स्थानमा निर्देशक ओमको प्रवेश भएको हो ।
निर्देशक परिवर्तन हुँदा चलचित्रको कास्टिङमा पनि फेरबदल हुनसक्ने चर्चा थियो । मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी अञ्जना पुन मगर हट्न सक्ने चर्चा चलेको थियो । तर, चलचित्रमा अभिनेत्री नफेरिने भएको छ । शुक्रबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अञ्जना फिल्ममा यथावत् रहेको जानकारी दिएको छ ।
सार्वजनिक गरेको पोस्टरमा नायक पल शाह र नव-नायिका अञ्जनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुले यसअघि म्युजिक भिडियोमा काम गरेका छन् । यी दुईको सहकार्य रहेको ‘मायालाई पानको पात’ हिट गीत हो ।
निर्देशक ओमले यसअघि चलचित्र ‘मोहर’ निर्देशन गरेका थिए, जसमा नायक पल शाह मुख्य भूमिकामा थिए । यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।
‘यानीमाया’ अभिनेता शाहको आफ्नै ब्यानरबाट निर्माण हुन लागेको पहिलो चलचित्र हो । यसअघि आफ्नो कम्पनीबाट थुप्रै म्युजिक भिडियोहरू निर्माण गरिसकेका छन् । पल अब निरन्तर चलचित्र निर्माणमा लाग्ने योजनामा छन् ।
चलचित्र ‘यानीमाया’ मा चन्द्रज्योति आलेले पनि निर्माताको रूपमा पललाई साथ दिएकी छिन् ।
‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले, पनि यो चलचित्र प्रेमको कथामा निर्माण हुन लागेको वुझ्न सकिन्छ ।

