दुई नेपाली-अमेरिकी चिकित्सकको सांगीतिक प्रेम कथा, सार्वजनिक गरे ‘सधैं साथमा तिम्रो’

काठमाडौं । पेसाले चिकित्सक तर हृदयले कलाकार । अमेरिकामा कार्यरत दुई नेपाली चिकित्सकहरूको अभूतपूर्व सांगीतिक सहकार्यमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘सधैं साथमा तिम्रो’ बोलको गीतको भिडियोमा चिकित्सक जोडी सुपेश बस्नेत र रेहा पोखरेलले अभिनय गरेका छन् ।

सार्वजनिक गरिएको यस गीतमा गायक डा. बस्नेतको स्वर रहेको छ । गोविन पुनको शब्द र संगीत रहेको यस गीतको एरेन्जमेन्ट र मिक्सिङ दिनेश श्रेष्ठले गरेका हुन् ।

‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई तीन देशमा खिचिएको छ । यो गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको हो ।

गीतको भिडियो ‘वास्तविक कथा’मा आधारित रहेर तयार पारिएको हो । जसमा रेहा र सुपेशको वास्तविक प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरिएको छ ।

अस्पतालको व्यस्त दैनिकीबाट सुरु हुने भिडियोले उनीहरूको प्रेम र यात्राको कथालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ ।

भिडियोको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।

महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुपेश भन्छन्, ‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीतप्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’

चिकित्सिक पेशामा निकै व्यस्त हुँदा पनि सुरेश र रेहाले गीतसंगीतलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।