‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन स्थगित

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’को शीर्ष भूमिका रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति सरेको छ ।

चैत २७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र अब सो मितिमा रिलिज नहुने निर्माण पक्षले जनाएको छ ।

निर्देशक राजु गिरीका अनुसार चलचित्रको केही प्राविधिक काम अझै सम्पन्न हुन बाँकी रहेको र प्रचारप्रसारका लागि पर्याप्त समय अभाव भएकाले प्रदर्शन स्थगित गरिएको हो ।

‘हामीले चैत २७ को मिति तय गरेका थियौं, तर केही प्राविधिक समस्या र तयारी नपुगेका कारण उक्त मितिमा आउन नसक्ने भयौं,’ निर्देशक गिरीले भने, ‘नयाँ प्रदर्शन मिति भने केही समयपछि मात्र टुंगो लाग्नेछ ।’

प्रदर्शन मिति पोस्टपोन्ड हुनुमा प्राविधिक कारण मात्र नभई कलाकारको असहयोग पनि मुख्य कारण रहेको बुझिएको छ ।

चलचित्रको एउटागीतको छायांकन अझै बाँकी छ, तर कलाकारहरूले समय नदिँदा सुटिङ हुन सकेको छैन ।

केही दिनअघि निर्देशक गिरीले सामाजिक सञ्जालमार्फत कलाकारहरूले चलचित्रको प्रमोसन र काममा समय नदिएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनको यो संकेत विशेषगरी मुख्य अभिनेता सागर लम्साल ‘बले’ तर्फ लक्षित रहेको चर्चा सिने वृत्तमा छ ।

सागर हाल अर्को चलचित्र ‘पाँच पाण्डव’ को छायांकनमा व्यस्त रहेकाले ‘डल्लेले इन्ट्री मार्‍यो’ लाई समय दिन नसकेको बुझिन्छ ।

चलचित्रमा सागर अनुबन्धित हुँदा पैँतिस लाख पारिश्रमिक लिएको हल्ला थियो । तर, यसबारेमा दुवै पक्षले आधिकारिक रूपमा बाहिर बोलेका छैनन् ।

यो चलचित्र पछि सरेसँगै चैत २७ गतेको ‘बक्स अफिस’ भिडन्त पनि टरेको छ । यसअघि सोही मितिमा अभिनेत्री रेखा थापाको चलचित्र ‘३६ को आँकडा’ पनि प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक सबिर श्रेष्ठले आफ्नो चलचित्र पनि चैत २७ मा रिलिज नहुने जानकारी दिइसकेका छन् ।

यी दुई चलचित्र पछि हटेपछि अब चैत २७ मा एक्सन स्टार विराज भट्टको चलचित्र ‘राम नाम सत्य’ मात्र प्रदर्शनमा आउने भएको छ । यसले गर्दा सो मितिमा विराज भट्टलाई हलमा एकल वर्चस्व जमाउने मौका मिलेको छ ।

चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ले कुलतमा युवापुस्ता फस्दा आउने सामाजिक असरको कथा भन्छ । यो चलचित्रमा सागर लम्सालका साथै रोशनी खड्काको मुख्य भूमिका रहेको छ ।

उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइराला, सावित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई लगायतको पनि अभिनय रहेको छ ।

चलचिमा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरीको लगानी रहेको छ ।