‘एक मुठ्ठी बादल’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल’ को पहिलो गीत सार्वजनिक भएको छ ।

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण पक्षले मंगलबार ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीत सार्वजनिक गरेको हो ।

हर्क साउदको शब्द रचना रहेको यस गीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको छ ।

सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको भिडियोमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।

विवाहको अघिल्लो दिनको चटारो र उत्सवलाई पृष्ठभूमिको रूपमा भिडियोलाई प्रस्तुत गरिएको छ ।

‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका गायक सुमित पाठकले यसै चलचित्रमार्फत संगीतकारको रूपमा डेब्यु गरेका छन् । गायकका रूपमा आफूलाई स्थापित गरिसकेका पाठकले चलचित्र संगीतमा नयाँ प्रयोग गर्ने प्रयास गरेका छन् ।

गीतको भिडियो निर्देशन प्रतीक गुरुङले गरेका हुन् भने कृतिका बरालको कोरियोग्राफी रहेको छ ।

निर्देशक सहाराका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो । उनी भन्छिन्, ‘यो गीत बनाइरहँदा हामी सबै पुस्ताका महिलाको भावना समेट्न चाहान्थ्यौँ । हाम्रा हजुरआमा र नातिनी सबैले आत्मसात गर्न सक्ने सिर्जना पस्कन चाहान्थ्यौँ । त्यो पूरा भएको छ भन्ने लाग्छ ।’

सहारा थप्छिन्, ‘यदि तपाईंले ध्यान दिनुभयो भने, फिल्मले समेटेका धेरै विषय मध्ये एउटा विषय यो गीतमा बुनिएको छ ।’

साहारा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् ।

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्र ‘एक मुठ्ठी बादल’ले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आँचल शर्मा, उषा रजक र निशा शर्माका साथै भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट लगायतको अभिनय छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ ।

चलचित्रमा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।