ट्रेन्डिङको नम्बर १ मा ‘राम नाम सत्य’को ट्रेलर
काठमाडौं । चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर ट्रेन्डिङको नम्बर १ मा पुगेको छ ।
माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो फिल्मको ट्रेलरले सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधा अन्र्तगत नेपालमा ८ नम्बरको ट्रेन्डिङमा पकड जमाएको थियो ।
सार्वजनिक भएको १० घन्टामै नेपालको सिनेमा विधा अन्तर्गत युट्युबको नम्बर १ स्थान ओगटेको फिल्मको ट्रेलरलाई २४ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ ।
फिल्मको ट्रेलरमा २६ सय भन्दा बढी प्रतिक्रिया छन् । अधिकांश प्रतिक्रियामा दर्शक फिल्मलाई लिएर उत्साहित देखिएका छन् । ट्रेलरबाट पाएको उत्कृष्ट प्रतिक्रियाले आफू अझै उत्साहित भएको निर्देशक चन्दले बताए ।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ ।
फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ ।
चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको सिनेमामा नव–नायिका खुशी कार्कीले नायक भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चामा छ ।
चलचित्रमा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रुपमा छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन् ।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन् ।


