‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ । कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापालगायत फिचर्ड छन् । चलचित्रका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भिडियो तयार पारिएको छ ।
चलचित्रका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत चलचित्रको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरीप्रति आमाको माया र हुर्काउन गर्ने संघर्षलाई चित्रण गरिएको छ ।’
‘लालीबजार’को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । चलचित्रको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ दर्शकमाझ लोकप्रिय बनिसकेको छ । एक महिनामा गीतलाई युट्युबमा मात्र १ करोड भ्यूज मिलेको छ भने यसमा लाखौंको संख्यामा टिकटक, रिल्स र सर्टस् बनेका छन् ।
बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् । प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

