चलचित्र कलाकार संघको निर्वाचन स्थगित
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको छ ।
अर्को सूचना नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।
कलाकार संघको निर्वाचन यही चैत २८ गतेका लागि ताकिएको थियो । साधारणसभाको तोकिएको समयसीमा भित्र प्रमाणित मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएका कारण चैत २८ गते निर्वाचन हुन नसकेको अध्यक्ष निरौलाले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै थियो । यसपटकको निर्वाचनमा कलाकार संघको नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ । वर्तमान महासचिव तथा नायक सविन श्रेष्ठ र अघिल्लो पुस्ताका कलाकार उत्तम केसी अध्यक्ष पदका मुख्य आकांक्षी हुन् ।
दुवै उम्मेदवारले आ-आफ्नो प्यानल (समूह) नै घोषणा गरेर चुनावी मैदानमा होमिएका थिए ।


