निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड
काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ ।
‘राजागंज’ : पूजा सर’ले १५ सय अमेरिकी डलर पुरस्कारले सम्मान पाएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्म ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो । भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते । चलचित्र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् ।
राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन पाएका छन् । सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए ।
दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा छिरिङ लामा निर्देशित यस चलचित्र ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ’सिप’ले पाएको छ । हादी बाबेइफरद्वारा निर्देशित इरानको यस सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।
सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो ।
सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ । यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए । यी दुवै ट्रफी र पचास हजार रुपैयाँले सम्मानित भए ।
डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले पाएको छ । हेसाम फराहमान्दद्वारा निर्देशित यस फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।
स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो । यसलाई प्रमाणपत्रले सम्मान गरियो । स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो । सुर्या बालाकृष्णद्वारा निर्देशित यस सर्ट फिल्मलाई प्रमाणपत्रले सम्मान गरियो ।
स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ चलचित्र ‘द शोर अफ लाइफ’ घोषित भएको छ । प्रमाणपत्रले सम्मानीत यस फिल्मको निर्देशक ची झाङ हुन् ।
निफको नवौं संस्करण चैत १९ गतेबाट सुरु भएको थियो ।


