‘कुम्भ’को प्रदर्शन मिति घोषणा, नेपाली र हिन्दी भाषामा रिलिज हुने
काठमाडौं । चलचित्र ‘कुम्भ’को एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
निर्माण पक्षले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते (गणतन्त्र दिवस)लाई प्रदर्शन मिति तय गरेको हो । यसअघि जेठ १५ गतेलाई चलचित्र ‘रोल नं १’ ले प्रदर्शन मिति घोषणा गरिसकेको छ ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’को लेखन तथा निर्देशन रन्धिर श्रेष्ठले गरेका हुन् ।
यस चलचित्रले ‘एक्सन-लभ स्टोरी’ विधालाई प्रस्तुत गर्नेछ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा अनुभव संगालेका श्रेष्ठले यसपटक निर्देशनमार्फत पर्दामा नयाँ स्वाद पस्कने कोसिस गरेका छन् ।
‘कुम्भ’लाई नेपाली र हिन्दी भाषामा रिलिज गरिने जनाइएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै दुई भाषामा तयार पारिएको निर्माण पक्षले जनाएको छ ।
नेपाल र साउथ इन्डियामा छायांकन गरिएको चलचित्रमा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय रहेको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।
एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा नव-नायक अशोक आर्यन, सृष्टि खड्का, रोहित रुम्बा र अफ्सना थापाका साथै वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलको मुख्य भूमिका रहेको छ ।
रन्धिर श्रेष्ठ र राजेश साहको लगानीमा निर्माण भएको यो चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । चलचित्रमा द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् ।
चलचित्रको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।


