चर्चा धेरै, हिट छैन- सिनेमा नचल्दा पनि कामको ओइरो
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्नु अगावै सामाजिक सञ्जाल र मिडियामा निकै चर्चा कमाएकी अभिनेत्री हुन्, दिव्या रायमाझी ।
अभिनेता दिलीप रायमाझीकी सुपुत्री हुनुको नाताले पनि उनलाई चलचित्र क्षेत्रमा ‘रातो कार्पेट’ स्वागत गरियो । तर, चर्चा र अपेक्षाको तुलनामा उनको सुरुवाती फिल्मी यात्रा भने सोचेजस्तो सुखद हुन सकेन ।
अहिले दिव्याको करियर एक यस्तो मोडमा आइपुगेको छ, जहाँ उनलाई आफ्नो अभिनय क्षमतासँगै व्यावसायिक सफलता (बक्स अफिस कलेक्सन) प्रमाणित गर्नुपर्ने ठूलो दबाब छ ।
दिव्याले आफ्नो पहिलो पाइला नै नायक प्रदीप खड्कासँग चलचित्र ‘एक्टर: टेक वान’ बाट चालेकी थिइन् । प्रदीप जस्ता स्टार नायकसँग डेब्यु गर्न पाउनु जोकोही अभिनेत्रीका लागि ठूलो अवसर हो ।
चलचित्रलाई लिएर दिव्या स्वयमलाई निकै उत्साह थियो, तर चलचित्रले बक्स अफिसमा नराम्रो धक्का खानुपर्यो । न त यसले समीक्षकलाई नै सन्तुष्ट पार्न सक्यो, न त दर्शकको भीड नै तान्न सक्यो ।
त्यसलगत्तै दिव्या चलचित्र ‘पीताम्बर’ मा देखिइन् । यो सिनेमाबाट उनले अघिल्लो असफलतालाई मेटाउने आशा गरेकी थिइन् । तर, दुर्भाग्यवश ‘पीताम्बर’ ले पनि व्यापारिक रुपमा खासै जादु चलाउन सकेन । दुई-दुई वटा चलचित्रले व्यवसायिक सफलता नपाउँदा दिव्याको ‘स्टार भ्यालु’ माथि नै प्रश्न उठ्न थाले ।
अब सबैको नजर यही शुक्रबार (भोलि) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ मा अडिएको छ । यो चलचित्र दिव्याको करियरका लागि ‘अग्निपरीक्षा’ सावित हुने देखिएको छ । अघिल्ला दुई सिनेमाले अपेक्षित व्यापार गर्न नसकेका कारण उनलाई यो चलचित्र व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ ।
यो एक ‘मल्टिस्टारर’ सिनेमा हो, दिव्याले जसमा विराज भट्ट, दिग्गज अभिनेता सुनिल थापा, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट र आयुष सिंह ठकुरी जस्ता कलाकारहरूसँग स्क्रिन सहकार्य गरेकी छन् ।
चलचित्रको ट्रेलर र प्रचार सामाग्रीले दर्शकमाझ राम्रो प्रभाव जमाएको छ । यदि यो चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो भने दिव्यालाई ‘फ्लप अभिनेत्री’ को ट्यागबाट मुक्ति मिल्नेछ र फिल्म क्षेत्रमा उनको माग अझै बढ्नेछ ।
भनिन्छ, चलचित्र चल्नु र कलाकार चल्नु फरक कुरा हो । अघिल्ला सिनेमा व्यावसायिक रुपमा असफल भए पनि दिव्याको व्यस्तता भने घटेको छैन । उनी अहिले अर्जुन पोखरेलको निर्माणमा बनिरहेको चलचित्र ‘बेहुली’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनले ‘होस्टल ३’ बाट चर्चामा आएका अभिनेता पारस बम ठकुरीसँग स्कृन सेयर गर्दै छिन् ।
निर्माता र निर्देशकहरू अझै पनि दिव्याको सम्भावना र उनको ‘स्क्रिन प्रेजेन्स’ मा विश्वास गर्छन् भन्ने यो बलियो प्रमाण हो । तर, करियरलाई लामो समय टिकाइराख्न एउटा ‘ब्लकबस्टर’ हिटको खाँचो उनलाई खड्किएको छ ।
व्यावसायिक सफलता नमिल्दा त्यसले भविष्यका प्रोजेक्टहरूमा असर पार्न सक्छ । दिव्याका लागि ‘राम नाम सत्य’ मात्र एउटा फिल्म होइन, यो उनको भविष्यको दिशा तय गर्ने एउटा महत्वपूर्ण कडी हो । फिल्म सफल भएमा उनले नयाँ उचाइ लिनेछिन् भने असफल भएमा उनीमाथि ‘नेपोटिज्म’ र ‘व्यापारिक ग्यारेन्टी नभएको अभिनेत्री’ को आरोप लाग्न सक्ने जोखिम छ ।
दिव्या आफैं भने ‘राम नाम सत्य’ लाई लिएर निकै आशावादी र उत्साहित छिन् ।
‘मैले अभिनय गरेको भएर मात्र राम्रो भनेको होइन, फिल्म साँचिक्कै उत्कृष्ट बनेको छ । यसमा भरपुर एक्सन मात्र छैन, यसमा इमोसन, सस्पेन्स र प्रेमको सुन्दर मिश्रण छ,’ उनी भन्छिन् ।
कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यो फिल्ममा दिव्याको जोडी सुशीलसँग बाँधिएको छ । सुशीलसँग काम गर्न एकदमै सजिलो भएको उनको अनुभव छ । विराजसँग पनि फिल्ममा काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् । भन्छिन्, ‘एक हिसाबले मेरो लागि यो फिल्म पाठशाला जस्तै रह्यो । अग्रज कलाकारहरूसँग काम गर्न पाउँदा नजानेका धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाएँ ।’
के दिव्याले यसपटक दर्शकको मन र हलको गल्ला दुवै भर्न सक्लिन् ? के विराज भट्ट र अन्य कलाकारको साथले उनलाई सफलताको स्वाद चखाउला ? यसको फैसला भोलिदेखि दर्शकले गर्नेछन् ।

