सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दर्ता, न्युयोर्क प्रहरीले सुरु गर्यो अनुसन्धान
काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दर्ता भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली छात्रा एवं राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्रीले आफूमाथि बलात्कार भएको भन्दै न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टमा लिखित जाहेरी दिएकी हुन् ।
पीडित युवतीले घटना अमेरिकामै घटेका कारण त्यहीँको स्थानीय प्रहरीमा कानुनी प्रक्रिया अगाडि बढाएकी हुन् । जाहेरी दर्ता भएसँगै अमेरिकी प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।
अब यस प्रकरणमा नेपाल र अमेरिकाको प्रहरीबीच समन्वय हुने र सोही आधारमा सागरको बयान तथा थप अनुसन्धान प्रक्रिया अघि बढ्ने देखिएको छ ।
यो घटना गत शुक्रबार ती युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेखेपछि सार्वजनिक भएको थियो । आफूले आफ्नो समस्या परिवारलाई भन्न नसकेको भन्दै उनले फेसबुकमार्फत बताएको ती युवतीले बताएकी छन् । उनले सागरलाई अन्तिममा मेन्सन गर्दै प्रश्न गरेकी थिइन्, ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’
विगत एक वर्षअघि सागर अमेरिका गएका बेला यो घटना भएको पीडितको दाबी छ । ती युवतीका अनुसार सागरसँगको भेटका क्रममा आफू बस्ने अपार्टमेन्ट देखाउन आग्रह गरेका थिए र त्यहीँ पुगेपछि आफूमाथि जबरजस्ती करणी भएको ती युवतीले आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जालमा आरोप सार्वजनिक भएलगत्तै नेपाल प्रहरीले गत शनिबार सागरलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सुरुमा बलात्कारको औपचारिक उजुरी नेपालमा नपरेका कारण प्रहरीले उनलाई ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जसको म्याद सकिँदैछ । अभद्र व्यवहारको मुद्दामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान रहेको छ । प्रहरीले शुक्रबार पुनः म्याद थपका लागि उनलाई जिल्ला प्रशासन कार्यालय लैजाने तयारी गरेको छ ।
अमेरिकामा दर्ता भएको जाहेरीपछि अब यो मुद्दाले नयाँ मोड लिएको छ । नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि नभए पनि गम्भीर फौजदारी अपराधमा इन्टरपोल वा अन्य कूटनीतिक माध्यमबाट सूचना आदानप्रदान र कानुनी सहयोग लिने गरिन्छ ।
पीडित युवतीले अमेरिकामा जाहेरी दिएपछि अब नेपाल प्रहरीले अमेरिकी प्रहरीसँगको सहकार्यमा पीडितको बयान र प्रमाणहरू संकलन गर्नेछ । यदि बलात्कार पुष्टि हुने आधारहरू देखिएमा सागरविरुद्ध नेपालमै पनि जबरजस्ती करणीको मुद्दा चल्न सक्ने वा अमेरिकी कानुनी प्रक्रियाका लागि अन्य विकल्पहरू खोजिने सम्भावना छ ।
सागर लम्साल ‘बले’ नेपालका लोकप्रिय टेलिश्रृंखला र म्युजिक भिडियोका स्थापित कलाकार हुन् ।

