‘मालती मंगले’को टिजरमा विजय र वर्षाको प्रेमदेखि शंकासम्म

काठमाडौं । आगामी वैशाख २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ ।

चर्चित गायक रामकृष्ण ढकालको निर्माणमा तयार भएको चलचित्रको सार्वजनिक टिजरले चलचित्रको मुख्य प्लट र केन्द्रीय द्वन्द्वलाई प्रस्ट्याएको छ ।

ढकालले यसै चलचित्रमार्फत पहिलो पटक फिल्म निर्माणमा हात हालेका हुन् ।

बिहीबार सार्वजनिक गरिएको टिजरले विशेष गरी वैवाहिक जीवनमा पैदा हुने ‘शंका’ र त्यसले निम्त्याउने उतारचढावलाई मुख्य विषयवस्तु बनाएको देखिन्छ ।

टिजरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतको प्रेमिल सुरुवातदेखि वैवाहिक यात्रासम्मको दृश्य देखाइएको छ । तर, विवाहपछि उनीहरूको सुमधुर सम्बन्धमा कसरी संकट आउँछ र भावनात्मक द्वन्द्व सिर्जना हुन्छ भन्ने कुरालाई टिजरमा प्राथमिकता दिइएको छ ।

टिजरको अन्त्यमा समावेश गरिएको रोमान्टिक दृश्यले चलचित्रमा प्रेम र मिलनका पक्षहरू पनि बलियो रहेको संकेत गर्दछ ।

प्रकु पाण्डेयले निर्देशन गरेको यस चलचित्रमा विजय र वर्षाका साथमा मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री र राज पङ्गेनी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् ।

चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ ।

महेश पौडेलको छायांकन रहेको चलचित्रमा रोमी मोजेजको सम्पादन रहेको छ । रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।

चलचित्रका गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।