कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ हिरासतमुक्त भएका छन् ।

गत शनिबार चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका लम्साललाई शुक्रबार नेपाल प्रहरीले हाजीरि जमानीमा छाडेको हो ।

अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।

गत शुक्रबार अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै कलाकार सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि पीडितको तर्फबाट प्रहरीमा ‘बलात्कार’ सम्बन्धी जाहेरी परेको थिएन । त्यसपछि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमती लिएको थियो ।

पाँच दिनको हिरासतपछि कलाकार लम्साल नेपाल प्रहरीलाई अनुसन्धानमा सहयो गर्ने र पर्दा हाजिर हुने सर्त सहित रिहा भएका हुन् ।

यता बुधबार, सागरविरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दर्ता भएको छ । ती युवतीले आफूमाथि बलात्कार भएको भन्दै न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टमा लिखित जाहेरी दिएकी छन् ।

पीडित युवतीले घटना अमेरिकामै घटेका कारण त्यहीँको स्थानीय प्रहरीमा कानुनी प्रक्रिया अगाडि बढाएकी हुन् ।