‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा, यस्तो छ जितुको अवतार
काठमाडौं । चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
अभिनेता जितु नेपालले मुख्य भूमिकामा अभिनय रहेको चलचित्रको निर्माण पक्षले मंगलबार पहिलो झलक सार्वजनिक गर्दै आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
नयाँ वर्षको अवसर पारेर सार्वजनिक फर्स्टलुक अभिनेता नेपाललाई पूर्णतः भिन्न र गम्भीर अवतारमा देख्न सकिन्छ । प्राय हसाउने भूमिकामा देखिने उनी यसपटक ढाकर बोकेको ‘भरिया’को रूपमा प्रस्तुत भएका छन् ।
उनले डोकोमा पहाड बोकेको देख्न सकिन्छ । त्यही पहाडमा अरू पाँचजना भरिया डोकोमा समान बोकेर हिँडिरहेका देखिन्छन् । साथै, आकाशमा चराहरू उडिरहेको दृश्यले चलचित्रको कथा ग्रामीण भेगको संघर्ष र श्रमजीवि वर्गको जीवनमा आधारित रहेको संकेत गर्छ ।
पोस्टरको तल्लो भागमा एक मायालु जोडीको झलक पनि देखाइएको छ, जसमा एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन् । यो जोडी चलचित्रको मुख्य कथाको हिस्सा हुनसक्ने बुझन सकिन्छ ।
चलचित्रमा जितुलाई अहिलेसम्मकै ‘रफ एण्ड टफ’ लुक्समा देखाइएको निर्माण पक्षको दाबी छ ।
निर्देशक राजेन्द्र बस्नेतले यस चलचित्रमार्फत जितु नेपाललाई एउटा भरियाको कथा र संवेदना बोकेको पात्रका रूपमा प्रस्तुत गरेका छन् ।
नेपालको पूर्वी जिल्ला धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका रमणीय तथा भौगोलिक रूपमा विकट स्थानहरूमा चलचित्रको छायांकन गरिएको छ ।
चलचित्रमा जितु नेपालका साथमा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
कर्णबहादुर फिल्मस् प्रा.ली.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । चलचित्रमा डम्बर राईको छायांकन, रोजल थापाको मुख्य सहायक निर्देशन, किरण दाहालको द्वन्द्व र दिप्सन लिम्बुको संगीत रहेको छ ।
यस चलचित्रलाई कुबेर फिल्मस्ले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ ।

