के सलोनको फिल्मबाट फर्कदैछन् सलिन ?

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा डेब्यु गर्दा अभिनेता सलिनमान बनियाले जुन स्तरको चर्चा र क्रेज कमाए, त्यो विरलै अभिनेताको भागमा पर्छ । आफ्नो पहिलो सिनेमाबाटै युवापुस्ताको ढुकढुकी बनेका सलिनमान दोस्रो चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रको आगामी ‘सुपरस्टार’का रूपमा हेरिएका थिए ।

तर, सोचे विपरित सलिन एकाएक ओझेलमा परे । न उनी कुनै सार्वजनिक कार्यक्रममा देखिए, न सामाजिक सञ्जालमा नै सक्रिय रहे ।

गतवर्ष आफू निकट कलाकार सलोन बस्नेतको चलचित्र ‘रंगी’ को प्रिमियरमा उनी देखिए । मिडियामाझ पनि खासै नदेखिएका उनले करिब आठ वर्षको लामो मौनता र सिने जगतबाटको दूरीपछि आफ्ना फ्यानहरूका लागि खुसीको खबर दिएका छन् ।

नयाँ वर्ष २०८१ को अवसर पारेर सामाजिक सञ्जालमा सलिनमानले चलचित्र क्षेत्रमा आफ्नो पुनरागमन (कमब्याक) को स्पष्ट संकेत दिएका हुन् ।

सलिनमानले सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनतापछि, नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ ।’

उनको यो भनाइले उनी विगत आठ वर्षदेखि चलचित्रबाट टाढा भए पनि आफूलाई भित्रभित्रै कुनै विशेष भूमिकाका लागि तयार पारिरहेको संकेत गर्दछ । सलिनको यो पोस्टले उनका फ्यानहरूमाझ उत्साह दिलाएको छ ।

सलिनमान कुन चलचित्र र कसको ब्यानरबाट कमब्याक गर्दैछन् भन्ने कुरा अहिले चर्चा बनेको छ ।

स्रोतका अनुसार सलिनले सलोन बस्नेतको आगामी प्रोजेक्टमा काम गर्ने पक्कापक्की जस्तै भइसकेको छ । यद्यपि, दुवै पक्षले यस विषयमा आधिकारिक पुष्टि भने गरेका छैनन् ।

सलिनले सार्वजनिक गरेको पछिल्लो तस्विर कुनै सुटिङ सेटको ‘लुक्स’ हुन सक्ने अनुमान गरिएको छ। यदि यो सत्य हो भने, उनले सुटुक्क चलचित्रको काम सुरु गरिसकेको र नयाँ वर्षको उपहार स्वरूप फ्यानलाई जानकारी दिएको बुझ्न सकिन्छ ।

सन् २०१७ मा ‘ए मेरो हजुर २’ र २०१९ मा ‘यात्रा’ प्रदर्शन भएपछि सलिनमान पर्दाबाट हराएका थिए । त्यसयता उनले कुनै पनि नयाँ फिल्ममा साइन गरेको खबर सार्वजनिक भएन । चकलेटी लुक्स र भिन्न शैलीका कारण चिनिएका उनले यति लामो समय किन विश्राम लिए भन्ने प्रश्न अझै अनुत्तरित छ । तर, उनले भनेजस्तै यो विश्राम ‘अन्त्य’ नभएर ठूलै ‘तयारी’ थियो भने पक्कै पनि उनको पुनरागमन नेपाली फिल्म उद्योगका लागि सुखद हुनेछ ।

लामो समयपछि आफ्नो प्रिय अभिनेतालाई पर्दामा देख्न आतुर फ्यानहरूका लागि सलिनको यो संकेतले ठूलो राहत दिएको छ । अब उनले कुन चलचित्र, कस्तो भूमिका र कहिलेबाट काम सुरु गर्ने हुन्, त्यसका लागि भने केही समय प्रतीक्षा गर्नैपर्ने देखिन्छ ।