‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा घोषणा, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता (वर्ल्ड अफ डान्स)को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।

सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्व स्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गरिनुका साथै निर्णायक समितिको परिचय गराइएको थियो । समारोहको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइसलाई कार्यक्रमको ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा घोषणा गर्दै उनको परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

टेरेन्स लुइस ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठुला भारतीय रियालिटी शोका चर्चित निर्णायक हुन् । नेपालमा उनको उपस्थितिलाई लिएर आयोजकले यसलाई उत्कृष्टताको प्रतीक र उदीयमान डान्सरहरूका लागि ठुलो प्रेरणाको रूपमा लिएका छन् ।

ग्रान्ड जज टेरेन्सका साथै निर्णायक मण्डलमा नेपालको शान तथा लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु रहनेछन् ।

नेपालका ठुला डान्स रियालिटी शोहरूमा आफ्नो सफल निर्णायकको भूमिका निर्वाह गरिसकेका किरण थापाले पूरै राष्ट्रलाई आफ्नो नृत्यमार्फत हर्षित तुल्याउँदै आएका छन्। यसै गरी, टेरेन्स लुइस डान्स एकेडेमीबाटै प्रशिक्षित जेडी तमुले नेपाली डान्सरहरूलाई विश्वव्यापी पहिचान दिलाउने प्रमुख शक्तिको रूपमा काम गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै ‘वर्ल्ड अफ डान्स नेपाल’का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए ।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ । सार्वजनिक गरिएको तालिका अनुसार वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसनहरू हुनेछन् ।

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको प्रतिस्पर्धात्मक सेमिफाइनल जेठ २१ गते हुनेछ भने प्रतियोगिताको भव्य ग्रान्ड फिनाले जेठ २३ गते सम्पन्न हुनेछ ।