आधा दर्जन सिनेमा खेल्दा पनि छायामै गौरव

काठमाडौं । नेपाली फिल्म उद्योगमा एउटा भनाइ छ ‘यहाँ टिक्नका लागि अभिनय मात्र भएर पुग्दैन, भाग्य र चर्चाको पनि साथ चाहिन्छ ।’ यही नियति भोगिरहेका अभिनेता हुन्, गौरव विष्ट ।

रङ्गमञ्च (थिएटर) को धूलो खाएर, अभिनयको कखरा सिकेर ठूलो पर्दामा होमिएका गौरवले दुई वर्षको छोटो अवधिमा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । तर, बिडम्बना ! उनले जति चलचित्र र मेहनत गरेका छन्, त्यो अनुपातमा दर्शकमाझ उनको ‘ब्रान्ड भ्यालु’ अझै स्थापित हुन सकेको छैन ।

थिएटरबाट उदाएका कलाकारहरूको जग बलियो हुन्छ भन्ने प्रमाण गौरव स्वयं हुन् । उनले २०८० सालमा रिलिज भएको चलचित्र ‘परस्त्री’ बाट अभिनेताका रूपमा डेब्यू गरेका थिए । यस सिनेमामा उनको कामको प्रशंसा त भयो, तर सोचेजस्तो व्यापारिक सफलता र व्यक्तिगत चर्चा उनले पाउन सकेनन् । त्यसपछि उनले ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ जस्ता हरर जनराका चलचित्रमा पनि अभिनय गरे ।

गौरवको करियरमा एउटा महत्वपूर्ण चलचित्र बन्यो- ‘पिताम्बर’ । यो सिनेमामा गौरवको भूमिका सशक्त हुँदाहुँदै पनि मिडिया र दर्शकको नजरमा केवल प्रदिप खड्का मात्र छाए । प्रदिपको क्रेज यति भारी भयो कि गौरवको मेहनत र अभिनयको पाटो ओझेलमा पर्न पुग्यो ।

यति मात्र होइन, हालै प्रदर्शनमा आएको ‘के घर के डेरा २’ मा पनि उनी अतीथि भूमिका (गेस्ट रोल) मा देखिए । सानो भूमिकाले कलाकारलाई व्यस्त त राख्छ, तर ‘स्टार’ बनाउन भने हम्मेहम्मे पर्छ ।

फिल्म वृत्तमा अहिले एउटा चर्चा छ– ‘गौरवसँग अभिनयको भण्डार त छ, तर के उनी सधैँ सहायक भूमिका वा ठूला स्टारको छायामा मात्रै सीमित हुने हुन् ?’

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’ गौरवका लागि ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यो सिनेमालाई लिएर गौरव निकै आशावादी देखिन्छन् । यसमा उनी आँचल शर्मा, निशा शर्मा, उषा रजक लगायतका कलाकारहरूसँग देखिँदैछन् ।

सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘एक मुठ्ठी बादल’का लागि गौरवले शरीरिक रूपान्तरणमा निकै मिहिनेत गरेका थिए । आफ्नो पात्रमा फिट देखिन उनले ९ केजी तौल घटाएका थिए ।

बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको गौरवको हालको तस्वीर र चलचित्रको क्यारेक्टर पोस्टर हेर्दा पनि उनले तौल घटाउन गरेको मिहिनेत प्रस्ट देखिन्छ । निर्माण पक्षले सिनेमामा उनको भूमिकाबारे भने केही खुलाएको छैन । 

हालसम्म पनि यस चलचित्रको प्रचार-प्रसार केन्द्रमा अभिनेत्री आँचल नै छिन् । के गौरव विष्टले यो सिनेमामार्फत ‘नोटिस’ हुने मौका पाउलान् ? के उनले स्टारहरूको छायाबाट निस्किएर आफ्नो छुट्टै पहिचान बनाउन सक्लान् ? यो त चलचित्र रिलिज भएपछि दर्शकको प्रतिक्रियाले नै बताउनेछ । तर, एउटा कुरा भने पक्का छ– आधा दर्जन सिनेमामा काम गरेर गौरवले आफ्नो धैर्यता र सक्रियता भने प्रमाणित गरिसकेका छन् ।

अब पालो दर्शकको, के उनीहरूले गौरवको अभिनयलाई चिन्न सक्लान् ? प्रतीक्षा जेठ १ को ।