तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि
सुर्खेत । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना हुने भएको छ।
बिहीबार सुर्खेतमा पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो ।
कर्णालीलाई चलचित्र पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले राज्यको न्यून उपस्थिति रहेको यस क्षेत्रमा चलचित्रका माध्यमबाट सामाजिक, आर्थिक र शैक्षिक रूपान्तरण ल्याउने दाबी गरेको छ ।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने अभियानका साथ सुरु हुन लागेको यस महोत्सवको औपचारिक समुद्घाटन वैशाख ११ गते वीरेन्द्रनगरस्थित होटेृल शुभमा हुनेछ।
सोही दिन ‘चलचित्र पर्यटन संवाद’ समेत आयोजना गरिनेछ । उक्त उद्घाटन तथा संवाद कार्यक्रममा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिहरूका साथै ख्यातिप्राप्त चलचित्र निर्माता, निर्देशक र कलाकारहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा विशेर्ष कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई चलचित्रको पर्दामार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीमा प्रचुर सम्भावना भएर पनि चलचित्र र पर्यटनका गतिविधि शून्यप्रायः रहेको अवस्थामा यो महोत्सव एउटा कोसेढुङ्गा साबित हुने बताए ।


